बिएमडब्लू इन्डियाले बिहिबार भारतीय बजारमा विद्युतीय एसयुभी आइएक्स सार्वजनिक गरेको छ। बिएमडब्लूको यो निकै नै प्रतिक्षित विद्युतीय एसयुभी भएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
बिएमडब्लू आइएक्स एसी र डिसी फास्ट चार्ज दुवैबाट चार्ज गर्न सकिन्छ। यसले एक पटकको पुरा चार्जमा ४२५ किलोमिटरसम्मको माइलेज दिने बताएको छ।
गाडीमा दुईवटा लिथियम-आयोन ब्याट्री जडित छ जसले ३२६ एचपी पावर जेनेरेट गर्छ। यो जम्मा ६.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ। गाडीमा पर्सनल, स्पोर्ट र इफिसियन्ट गरी तीनवटा ड्राइभिङ मोडहरू छन्।
कम्पनीका अनुसार १५० किलोवाटको डिसी फास्ट चार्जरले यो गाडी जम्मा ३१ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने ५० किलोवाटको डिसी चार्जरबाट गाडी चार्ज गर्दा ७३ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। एसी चार्जरबाट गाडीलाई चार्ज गर्दा भने सात घण्टामा पूरा चार्ज गर्न सकिन्छ।
गाडीको आवरण पनि निकै स्टाइलिस छ। यसको अगाडि भागमा सार्प खालको डुअल-बिम एलइडी हेडल्याम्प छ। यसमा थ्री-डी बोनेट छ भने यसको ग्रिलहरू पनि निकै सानदार देखिएको छ। गाडीको साइड प्रोफाइल पनि आकर्षक छ। यो विद्युतीय आइएक्समा १,७५० लिटरको बुट स्पेस छ।
भित्री डिजाइनको कुरा गर्दा यसमा चालक र यात्रु बस्नको लागि खुल्ला एवम् पर्याप्त ठाउँ छ। गाडी भित्र १४.९ इन्चको टचस्क्रिन कर्भ आकारको इन्फोटेनमेन्ट डिस्प्ले, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रेस-कारबाट प्रेरित हेक्सागोनल स्टेरिङ ह्विल, स्काई लन्ज प्यानारोमा ग्लास रुफ, पर्याप्त लाइटिङलगायत विशेषताहरू छन्।
यतिका विशेषताहरूले भरिपूर्ण विद्युतीय बिएमडब्लू आइएक्सको मूल्य कम्पनीले भारतीय १ करोड १५ लाख रुपैयाँ तोकेको छ।