टोयोटाले भारतमा बिहीबार पिक-अप हाइलक्स अनावरण गरेको छ। योसँगै कम्पनीले भारतीय बजारको निकै प्रतिक्षित यो पिक-अप ट्रक मार्चमा सार्वजनिक गर्ने बताएको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार टोयोटाको हाइलक्स पिक-अप कम्पनीको फर्टुनर एसयुभीकै प्लेटफर्ममै आधारित छ। यसको बाहिरी आवरण निकै बोल्ड र मस्कुलर छ। यसमा हेक्जागन आकारको ग्रिल छ भने सिल्भर स्किड प्लेट छ। पिक-अपमा एलइडी डेटाइम रनिङ लाइटसहित एलइडी प्रोजेक्टर हेडल्याम्प छ। यसमा स्पोर्टी खालको अलोय ह्विल पाउन सकिन्छ भने यसको टेललाइट पनि निकै सार्प छ।
हाइलक्स पिक-अपको क्याबिन पनि फराकिलो हुनुका साथै थुप्रै विशेषताले भरिपूर्ण छ। यसको क्याबिन टोयोटाको फर्चुनरबाट प्रेरित देखिन्छ। यसमा कार प्ले र एनड्रोइड अटो सपोर्ट गर्ने ८ इन्चको टेबल-लाइक टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, सफ्ट-टच लेदर अपहोलेस्ट्री, स्टोरेजसहितको ड्राइभर आर्मरेस्ट र डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका विशेषताहरू छन्।
यसमा २.८ लिटर ४ सिलिन्डर टर्बो डिजेल इन्जिन जडित छ। जसले अधिकतम २०४ एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ। हाइलक्सले एशियन एनक्यापमा पाँच-स्टार सुरक्षा रेटिङ पाएको छ। यसमा ७ वटा एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, अटोमेटिक हिल असिस्ट कन्ट्रोल, डाउनहिल असिस्ट कन्ट्रोल लगायत विशेषताहरू समावेश गरिएको छ। अटो हिन्दुस्तानका अनुसार यो गाडीको उत्पादन भारत मै हुनेछ।
टोयोटाको नयाँ पिक-अपले बजारमा उपलब्ध आईसुजु भी-क्रससँग प्रतिस्पर्धा गर्ने अटो हिन्दुस्तानले जनाएको छ।
जापानी कम्पनी टोयोटा मोटर कर्पोरेसनले हालसम्म संसारभरका १८० भन्दा बढी राष्ट्रहरूमा गरी २ करोडभन्दा बढी हाइलक्स बिक्री गरिसकेको छ। कम्पनीले सन् १९६८ मा पहिलो पटक हाइलक्स सार्वजनिक गरेको हो।