यामाहा इन्डिया मोटर्सले हालै भारतीय बजारमा एफजेड एस एफआईको डिएलएक्स ट्रिम सार्वजनिक गरेको छ। अब भने कम्पनीले सन् २०२२ मा एफजेडएस२५ सार्वजनिक गर्ने तयारीमा रहेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
एफजेडएस२५ को बाहिरी आवरण स्पोर्टी हुने र नयाँ रंग थिममा उपलब्ध हुने अनुमान छ। यसमा २५० सिसी सिंगल-सिलिन्डर इन्जिन जडित हुनेछ जसले २० बिएचपी पावर र २०.१ एनएम टर्क जेनेरेट गर्छ। यसमा पाँच-स्पीड गियरबक्स हुनेछ।
जापानी अटोमेकर यामाहाले यसको विशेषताहरूमा पनि ध्यान पुर्याउँदै थप विशेषताहरू समावेश गर्ने अपेक्षा छ। जसमध्ये बाइकमा पुरै एलइडी लाइट हुने, एलसिडी कन्सोल र डुअल-च्यानल एबिएस हुने बताइएको छ।
कम्पनीले हालसम्म नयाँ बाइकबारे धेरै जानकारी सार्वजनिक नगरेपनि यसको मूल्य भारु १ लाख ४३ हजारदेखि सुरू हुने अनुमान छ। एफजेडएस२५ले बजारमा उपलब्ध डोमिनार २५०, पल्सर एफ२५० र सुजुकीको जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ।