छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण कम्पनी सेगवे–नाइनबोटले नेपालमा स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय स्कुटर सेगवे ई-१०० नेपालमा सार्वजनिक गरेको हो।
सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ। आईहव प्रालिका निर्देशक तथा सञ्चालक लोकेश ओलीका अनुसार नेपालमा सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्धन गर्ने उद्देश्यले स्कुटर सार्वजनिक गरिएको हो।
सेगवेले नेपाली बजारमा ई-१०० माघको तेस्रो हप्तादेखि उत्पादक वारेन्टीका साथ उपलब्ध गराउँदैछ। आईहव प्रालिले भविष्यमा योबाहेक सेगवे विद्युतीय स्कुटरका अन्य मोडलहरू समेत सार्वजनिक गर्ने बताएको छ।
सन् २००१ देखि अमेरिकी कम्पनी सेगवे दुई पांग्रे सेल्फ-ब्यालेन्सिङ सवारी र विद्युतीय सवारीहरूको उत्पादनको लागि प्रख्यात छ। सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि विगतका वर्षहरूमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ। नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे आफूलाई यसमा उत्कृष्ट प्रमाणित गर्दै आएको छ।
कस्तो छ विद्युतीय सेगवे ई-१००
उत्कृष्ट सुरक्षा सुविधाहरूका साथ आउने सेगवे ई-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन। त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन। सेगवे ई-१००मा किलेस सिस्टम छ। यसमा साँचोबाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरू छन- एउटाले स्कुटरलाई अन-अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ।
यसमा २२ लिटरको डिकी क्षमता छ जसमा फुल साएज हेल्मेट सहजै अटाउछ। यसमा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरू राख्न पर्याप्त ठाउँ उपलब्ध छ। नाइनबट ई-१०० कालो, सेतो, निलो र रातो गरी चार विभिन्न आकर्षक रंग विकल्पमा उपलब्ध छ।
परम्परागत स्कुटरहरूको तुलनमा ई-१०० आकर्षक डिजाइनमा तयार पारिएको छ। यसको लम्बाई १,७५५एमएम, चौढाई ६७५ एमएम र उचाई १,१३५ एमएम छ। यसको तौल जम्मा ८० केजी छ।
ई-१००मा छ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलइडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार उज्यालो दिन्छ। स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम-आयनयुक्त पानी प्रतिरोधी ब्याट्री आइपिएक्स५ जस्ता विशेषताहरू समावेश गरिएको छ। यसको डुअल ब्याट्री मोडमा एक पटकमा २०० किलोमिटरसम्म गुड्ने कम्पनीले बताएको छ।
कम्पनीले नेपाली बजारमा यो सेगवे ई-१००को सुरुवाती मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकेको छ।