स्लोभाक ट्रान्सपोर्ट अथोरिटीले 'एयरकार'लाई उड्ने अनुमति दिएको छ। एयरकार हाइब्रिड गाडी हो जुन जमिनमा गुड्नुका साथै आकाशमा उड्न पनि सक्छ।
सिएनएन बिजनेसका अनुसार यो एयरकारले सम्पुर्ण परीक्षणको चरण पार गरेसँगै गत साता उड्ने अनुमति पनि पाएको हो।
एयरकारको निर्माण कम्पनी क्लेन भिजन हो। जसका अनुसार यसले ७० घण्टाको उडान परीक्षण पुरा गरेपछि उड्ने अनुमति पाएको हो। परीक्षण समयमा यसले युरोपेली हवाई सुरक्षा संस्था (इएएसए)को मापदण्डअनुसार २०० भन्दा बढी पटक उडान र अवतरण गरेको थियो।
एयरकार निर्माणको लागि आठ जना विशेषज्ञहरूको टोली बनाइएको थियो। एयरकार निर्माण कम्पनी क्लेन भिजनका प्रवक्ताले सिएनएनलाई भनेअनुसार यो कार चलाउन/उडाउन पाइलट लाइसेन्सको भने आवश्यकता पर्छ।
यो एयरकारमा १.६ बिएमडबल्यु इन्जिन जडित छ। यसमा जुनकुनै पेट्रोलियम स्टेसनबाट सहजै इन्धन भर्न सकिन्छ। कम्पनीका सह-संस्थापक एनटन जाज्याकका अनुसार यो कार १८ हजार फिटको उचाइसम्म उड्न सक्छ।
गत जुनमा मात्रै यो एयरकारले स्लोभाकियाको राजधानी ब्राटिस्लाभा र नित्राबीचको एयरपोर्टमा ३५ मिनेटको परीक्षण उडान भरेको थियो।
एयरकारको डिजाइन क्लाइन भिजनका प्रोफेसर स्टिफन क्लाइनले गरेका हुन्। स्लोभाकियाली संगठनले उक्त कार बनाउन ३० वर्षभन्दा बढी समय खर्चेको छ। सो समयमा असंख्य प्रोटोटाइपहरू निर्माण गरेको छ।
कम्पनीले यो एयरकार अबको १२ महिना अर्थात् सन् २०२३ सम्ममा व्यवसायिक हिसाबमा उपलब्ध गराउनेमा सकारात्मक छ।