औडीले बिहीबार भारतीय बजारमा क्यू-७ सार्वजनिक गर्दैछ। जर्मन अटोमोबाइल कम्पनी औडीले फेसलिफ्ट गरिएको क्यू-७ सार्वजनिक गर्न भएको हो। यो नयाँ गाडीमा थप विशेषताहरू समावेश गरिने अटो हिन्दुस्तानले जनाएको छ।
नयाँ क्यू-७मा बिएस-६ कम्प्लायन्टको इन्जिन जडित हुनेछ। अटो हिन्दुस्तानका अनुसार यसमा ३.० लिटर भी-६ टर्बोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिएको छ। जसले ३४० एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ। यो ८-स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने बताइएको छ। नयाँ क्यू-७ को टप-स्पीड २५० किलोमिटर प्रति घण्टा छ।
क्यू-५ जस्तै क्यू-७ प्रिमियम प्लस र टेक्नोलोजी गरी दुई ट्रिममा उपलब्ध हुनेछ। अटो हिन्दुस्तानका अनुसार यसको अगाडिको भागमा कम्पनीले थप अद्यावरण गरेको छ।
यो गाडीमा नयाँ सेटको सिंगनेचर डिआरएल, अद्यावरण गरिएको ग्रिल र एलइडी हेडल्यामहरू छन्। त्यस्तै गाडीमा अलोय ह्विल पनि नयाँ सेटको प्रयोग गरिनेछ।
यसको भित्री भाग निकै फराकिलो र आकर्षक हुने बताइएको छ। क्यू-७ मा १०.१ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन र ८.६ इन्चको सानो टचस्क्रिन छ।
हालसम्म कम्पनीले यसको मूल्य सार्वजनिक नगरे पनि क्यू-७ एसयुभीको सुरुवाती मूल्य भारु ८० लाख हुने अनुमान छ। औडी क्यू-७ले बजारमा उपलब्ध बिएमडब्लु एक्स-७, मर्सिडिज-बेन्च जिएलएस, भोल्भो एक्ससी-९० र ल्यान्ड रोभर डिस्कभरीसँग प्रतिस्पर्धा गर्नेछ।