भरतपुरस्थित केन्द्रीय बस टर्मिनललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास थालिएको छ।
लामो तथा छोटो दूरीका सबै सवारी साधनलाई एकीकृत गरी बसपार्कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।
१३ वर्षअघि निर्माण सम्पन्न भए पनि केन्द्रीय बस टर्मिनल नाममात्रैको बसपार्कको रूपमा रहँदै आएको थियो। पूर्वी नेपालबाट आउने र त्यसतर्फ जाने केही बसहरूबाहेक अन्य सवारी साधन यहाँ खासै देखिँदैन थिए।
नारायणगढका सडक बसपार्क जस्तो गाडीले खचाखच देखिन्थ्यो, करोडौं रुपैयाँ खर्च गरेर बनाइएको बसपार्क खाली हुन्थ्यो। बुधबार बिहानदेखि भने बसपार्क सवारी साधनले भरिभराउ देखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दैनिक २२ देखि २५ हजार सवारी साधन चितवन हुँदै विभिन्न ठाउँ जाने गरेका छन्।
यीमध्ये केहीमात्रै बसपार्क प्रवेश गर्ने गरेका थिए।
‘अब चितवनबाट छुट्ने, चितवन हुँदै अन्य जिल्ला जाने, जिल्लाभित्रै चल्ने सबै सवारी साधनहरू केन्द्रीय बस टर्मिनलबाटै सञ्चालन हुनेछन्,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्म अधिकारीले भने।
अधिकारीका अनुसार चितवनभित्र अहिले करिब १५ सय बस तथा मिनी बस, १२ सय म्याजिक गाडी र २२ सय अटो रिक्साहरू छन्।
यी साधन भरतपुरको चौबिसकोठी, लायन्सचोक, पुल्चोक लगायतका क्षेत्रमा अस्तव्यस्त रूपमा रोक्ने गरिएको थियो।
‘यी सबै गाडी अब बसपार्कबाटै छुट्ने छन्, बसपार्कमै आएर रोकिनेछन्,’ अधिकारीले भने।
चितवनबाट काठमाडौंका लागि छुट्ने सवारीका साधन नारायणगढको पुल्चोकमा रोक्ने चलन थियो।
अधिकारीले अबदेखि सार्वजनिक सवारीका साधनहरू बसपार्कबाहेक अन्यत्र रोक्न नपाइने बताए।
‘पूर्वी, पश्चिम नेपालबाट चितवन आएका, अन्यत्र जान आएका, चितवनबाट अन्य जिल्लाका लागि छुट्ने सबै सवारी साधन केन्द्रीय बस टर्मिनल प्रवेश गर्नैपर्छ,’ अधिकारीले भने, ‘बसपार्कबाट काठमाडौं, पोखरातर्फ जाने गाडीहरूले नारायणगढ बजारतर्फको सडक उपयोग गर्न पाउँदैनन्, बाइपास सडकबाट जानुपर्छ।’
पश्चिमतर्फबाट आउने सवारी साधनमात्रै नारायणगढको बाटो हुँदै केन्द्रीय बस टर्मिनल पुग्न पाउने उनले बताए।
अधिकारीले नारायणगढको पुल्चोकदेखि नारायणगढ बसपार्क (पोखरा बसपार्क भनेर पनि चिनिन्छ) सम्मको सडकमा लामो दूरीका सवारी, ट्रक, टिपर, लहरी सञ्चालन हुन नदिइने बताए।
नारायणगढ बसपार्कलाई भने चितवनबाट गण्डकी प्रदेशका लागि छुट्ने सवारी साधनका लागि मात्रै प्रयोग गरिने उनले बताए।
हाल दैनिक एक सयभन्दा बढी ठूला बस र माइक्रोबस चितवनबाट गण्डकी प्रदेशका जिल्लाहरू जान्छन्।
गत मंसिर २८ गते भरतपुर महानगरपालिकामा भएको बैठकले पुस ७ गतेदेखि सवारी साधनको व्यवस्थापन सुरू गर्ने निर्णय गरेको थियो।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले अस्तव्यस्त बन्दै आएको ट्राफिकलाई व्यवस्थापन गर्न बसपार्कहरूलाई कडाइका साथ पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए।
‘जथाभावी पार्किङ गर्दा सडक साँघुरो हुने दुर्घटनाको जोखिम बढी हुने एकातिर छ, अर्कोतर्फ भएका बसपार्कहरू राम्ररी सञ्चालनमा आएका थिएनन्,’ अधिकारीले भने, ‘दुई बसपार्कलाई व्यवस्थित बनाउन सक्ने हो भने ट्राफिक व्यवस्थापन सहज बन्छ।’
नारायणगढ तथा भरतपुर राजमार्गको पेटी तथा सडकको दायाँ/बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरूलाई पार्किङमा निषेध गरिएको बताए।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुन्दर र सुसंस्कृत भरतपुर महानगरको परिकल्पनाअनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताइन्।
गोन्द्राङदेखि पुलचोकसम्म ६ लेन सडक निर्माण भइरहेकाले दुर्घटनाको जोखिम बढ्दै गएसँगै तत्काल सवारी साधनको व्यवस्थापनमा जुटेको उनले बताइन्।
एसियन डेभलभपमेन्ट बैंकको अनुदान तथा ऋण र भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख रुपैयाँ लगानीमा बसपार्क निर्माण गरिएको थियो।
वडा नम्बर ९ स्थित राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको ४ बिघा ९ कट्ठा ११ धुर जग्गा र भरतपुर महानगरको स्वामित्वमा रहेको ३ बिघा गरी जम्मा ७ बिघा ९ कट्ठा ११ धुर क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।
बोर्ड र तत्कालीन भरतपुर नगरपालिकाबीच २०६० फागुन १५ गते सम्झौता भएर २०६६ चैतमा बसपार्क निर्माण सम्पन्न भएको थियो।
निर्माण सम्पन्न भएको १३ वर्षसम्म पनि यसको सञ्चालनमा सरोकारवाला कसैको चासो पुगेको थिएन।
पूर्ण सञ्चालनमा नआउँदै जीर्ण बनेपछि बसपार्कको मर्मतका लागि ९ करोड १८ लाख २३ हजार ३०२ रुपैयाँ खर्च गरिएको छ।
२०७५ सालको माघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उक्त कामको शिलान्यास गरेका थिए। दुई वर्षमा सक्ने सम्झौता भए पनि ठेकेदारले समयमै काम नसक्दा पटक–पटक म्याद थप्नु परेको थियो।
केन्द्रीय बस टर्मिनल सञ्चालन गर्न भरतपुर महानगरपालिकाले एक कम्पनीलाई ठेक्कामा दिएको छ। त्यो ठेक्का असुल गर्न पनि महानगरलाई हम्मे हुँदै आएको छ।
निर्णय कार्यान्वयनमा आएसँगै केन्द्रीय बस टर्मिनल सवारी साधनले भरिभराउ देखिएको छ।
लामो दूरीका र पूर्वी चितवनबाट भरतपुर आएका सवारी साधन यहीँ रोकिन थालेको बसपार्कका कर्मचारीहरूले बताए।
'पश्चिम चितवनतिर चल्ने साधन आएका छैनन्, अन्य क्षेत्रमा चल्ने प्राय: बसपार्कमै आउन थालेका छन्,' पुरानो नारायणी यातायात कम्पनीका कर्मचारी गम्भीर रानामगरले भने, 'बसपार्कमा चहलपहल बढ्न थालेको छ।'
पश्चिम चितवनतर्फ चल्ने सवारी साधन भने चौबिसकोठीमै रोकिएका छन्। ती सवारीका सञ्चालकले बसपार्क जान पायक नपर्ने बताउने गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले यातायातका साधनलाई बसपार्कमा एकीकृत गरेर सञ्चालन गर्ने कार्यमा व्यवसायीहरूले सहयोग गर्ने बताए।
‘हामीले पहिलेदेखि नै भन्दै आएको पनि हो। सडकलाई नै बसपार्क जस्तो बनाउँदा समस्या भइरहेको छ,’ उनले भने, ‘तर यो पूर्ण कार्यान्वयनका लागि केही दिन लाग्नसक्छ। मेची, महाकालीदेखिका गाडीले चितवनको बाटो प्रयोग गर्छन्, सबैले अहिलेको निर्णय थाहा नपाएको हुनसक्छ। सम्झाउँदै कार्यान्वयन गर्नुपर्छ।’
उनले स्थानीय रूटमा चल्ने सवारीका सञ्चालकलाई पनि मनाउन प्रयास गर्ने बताए।