यातायात व्यवस्था विभागले ‘अफिस आवर’मा चक्रपथमा ट्रक तथा टिप्पर संचालन गर्न रोक लगाएको छ।
पहिलेदेखि नै यो नियम लागू गरिए पनि कडाई नगरिँदा ट्रक र टिप्पर संचालन हुँदै आएका थिए। तर भोलिदेखि कडाई गरिने भएको विभागले जनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार बिहान ८ बजेदेखि साढे १० बजेसम्म र साँझ ३ बजेदेखि साढे ६ बजेसम्म यस्ता सवारी साधन संचालन हुन पाउने छैनन्।
विभागले ट्राफिक प्रहरी तथा व्यवसायीहरुको समेत सहमतिमा सो निर्णय गरिएको जनाएको छ।
यस अवधिमा कार्यालय तथा विद्यालयका सवारी साधनले चक्रपथमा समेत ट्राफिक चुनौति थपिएको भन्दै सामान बोक्ने ट्रक तथा टिप्पर संचालनमा रोक लगाइएको छ। ह्यावी ट्रक, मिनी ट्रक तथा सबै प्रकारका टिप्पर यस अवधिमा संचालन हुन पाउने छैनन्।
यदी नियमको उल्लंघन गरे जरिवाना तथा अन्य कारबाही गर्ने गरी निर्देशन दिइएको विभागले जनाएको छ।