दुर्घटना न्यूनीकरणका लागि ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ ।
राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए।
समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् । मजगैयाका अनुसार चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिँदा लापर्बाहीका कारण दुर्घटना हुन सक्ने भन्दै दुर्घटना रोक्नका लागि ट्रक चालकलाई मात्र अनुमति परिचय पत्र प्रदान गरिएको हो ।
“चालकलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरेका छौँ, हाल ४०० को हाराहारीमा परिचय पत्र वितरण भइसकेको छ,” उनले भने। समितिमा गाडी दर्ता भई सञ्चालन भएका ट्रकका चालकलाई परिचय पत्र अनिवार्य गरिएको छ । भदौ १ गतेदेखि समितिले यसमा कडाइ गर्ने जनाएको छ । रासस