नाडा अटो शो को १२ औं संस्करण भदौ १३ गतेदेखि काठमाडौँको भृकुटी मण्डपमा संचालन हुने भएको छ।
६ दिनसम्म चल्ने शोको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेज्मेन्ट सर्भिसेज प्रालिको संयुक्त अयोजनामा हुन लागेको हो। यसको शिर्ष प्रायोजकमा सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ।
नेपालका चर्चित हास्य कलाकार मह जोडी ब्राण्ड एम्बेस्डर रहने यो प्रर्दशनीमा अटो व्यवसायीहरुले आफ्नो विभिन्न ब्रण्डका सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट लगायतकाबारेमा जानकारी दिनेछन्।
साथै ग्राहकमा अटोसम्वन्धी लागेका सम्पुर्ण कौतुहलता मेटाउन यो मेला महत्वपूर्ण रहेको आयोजकले जनाएको छ। मेलामा ९० वटा संस्थाको १३० वटा स्टल रहनेछन्। मेलामा ग्राहकले सजिलै र छोटो समयमै सावारी साधनको छनौट गर्न सक्ने नाडा अटोमोबाइल्स एसोसिएसन् अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताए।
प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, १९ ब्राण्डका २ पाङ्ग्रे र ६ वटा ब्रण्डका हेभी कमर्सियल सवारी साधनहरुको सहभागिता रहने जनाइएको छ।
करिव ५० हजार अवलोकन कर्ता आउने विश्वास गरिएको प्रदशर्नीको अम्दानीबाट ५ लाख रुपैयाँ बाढी पीडितलाई सहयोग गर्ने नाडाले जनाएको छ।
प्रदर्शनीको प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आईएमई अटोमोटिभ्सद्धारा प्रयोजित युएम कमाण्डो २३० सिसी मोटरसाइकल समेत रहेको छ। मेला अवधिभर ट्राफिक व्यवस्थापन र पार्किङको असुविधालाई मध्यनजर गर्दै नाडाले पद्यमोदय स्कुल, बाल्मिकी क्याम्पस र फनपार्कसँग सम्वन्वयन गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।