प्रभु बैंकको नाफा ३ करोड बढीले खस्किएको छ। चालु आवको प्रथम त्रैमासिक अवधिमा बैंकले २५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा यस्तो नाफा २८ करोड २४ लाख थियो।
बैंकले खुद व्याजवापतको आम्दानी भने बढाएको छ। खुद व्याजबाट ५१ करोड ३४ लाख आम्दानी गरेको छ। यो गत वर्ष यस अवधिमा ४६ करोड ८२ लाख थियो। नाफामा ३७ करोड ७६ लाख ‘राइट ब्याक’को योगदान देखाएको छ।
नाफा खस्किँदा बैंकले खराब कर्जामा भने सुधार गरेको छ। ७. ५४ प्रतिशत निश्क्रिय कर्जा रहेकोमा एक वर्षपछि अहिले ४. २३ मा झरेको छ। बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको छ।
८ अर्ब पुर्याउनका लागि उसले हकप्रदको बाटो तय गरेको छ। धितोपत्र बोर्डमा ४० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको प्रभुले लामो समय बितिसक्दा पनि स्वीकृत पाउन सकेको छैन। बोर्डका एक अधिकारीका अनुसार बैंकले कागजातको प्रक्रिया पुरा नगर्दा स्वीकृति पाउन नसकेको हो।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ छ। कम्पनीको सेयर मूल्य साढे ३ सय रुपैयाँको हाराहारीमा छ।