बुधबार एकै दिन ९२ अंकले बढेको बजारले दोस्रो दिन वृद्धि कायम राख्न सकेन। बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा आएको छ।
नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा सीमित राख्ने निर्णय गरेसँगै बुधबार सेयर बजारमा सकारात्मक प्रभाव परेको थियो। तर, कर्जाको ब्याजदर घट्न केही समय लाग्ने देखिएपछि बजारमा बिहीबार देखिएको उत्साह एक दिन पनि टिक्न सकेन।
हाल कर्जाको लागि लिइने आधार दर औसतमा १०.६८ प्रतिशत रहेकोमा अब कर्जाको ब्याजदर भने ०.१५ देखि ०.२ प्रतिशत विन्दुले घट्ने सम्भावना रहेको बताइएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १ अर्ब ६५ करोडमा कारोबार सीमित भएको छ।
यस दिन २७० वटा धितोपत्रको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आर्दश लघुवित्त, कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को मूल्य सर्वाधिक ५.५० प्रतिशतले घटेको छ। यो स्किमको प्रतिइकाइ ८.०८ रुपैयाँमा कारोबार भएको हो। त्यस्तै आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ। विकास बैंक परिसूचक सबैभन्दा धेरै २.४८ प्रतिशतले घटेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४०५ रुपैयाँमा ८ करोड ४२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको २ हजार १० रुपैयाँमा सेयर किनबेच हुँदा ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।