मंगलबार नेप्से ४ अंकले ओर्लिँदा ५७ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा ७ करोड रुपैयाँले कमी हो।
आजको कारोबारपछि नेप्से १५५१ अंकमा कायम भएको छ। कारोबार सुरु हुँदादेखि ओर्लिएको नेप्से दिउँसो १ बजेतिर बढेर १५५९ अंकमा पुगेको थियो। त्यसपछि पुनः नेप्से ओर्लिँदा बीचमा उठेको ट्रेन्ड देखिएको छ।
जलविद्युत, उत्पादन र अन्यबाहेक सबै समूह रातो अंकमा रहे। जलविद्युत ४, अन्य ४ र उत्पादन समूह झिनो अंकमा हरियो रहे। बैंकिङ ४, होटल ८, विकास बैंक ८, फाइनान्स ३ र बिमा समूह २९ अंकले घटेका छन्।
यस दिन एभरेष्ट बैंकको सबैभन्दा बढी रकमको कारोबार भयो। सो कम्पनीको ९ करोड १ लाखको सेयर किनबेच भयो। बैंकको ३ बराबर १ को अनुपातमा हकप्रद दावी गर्नका लागि आज सेयर किन्ने अन्तिम दिन भएकाले कारोबार उच्च भएको हो।
अरु कम्पनीको कारोबार भने ३ करोडभन्दा मुनि खुम्चियो। एनसीसी बैंक, स्टान्डर्ड चार्टड, प्राइम लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
समग्र नेप्से घट्दा पनि नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशत मूल्य कमाएका छन्। स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स तथा अरुण फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढी नाफा कमाए।
गुमाउनेमा एभरेष्ट बैंकका संस्थापक लगानीकर्ता अगाडि रहे। उनीहरुले ९. ९ प्रतिशतले मूल्य गुमाएका छन्। सिर्जना फाइनान्स, एनसीसी बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए।