बजार मूल्यभन्दा सस्तोमा सेयर किनेर जोखिम कम गर्न चाहनेलाई यतिबेला राम्रा अवसरहरु आएका छन्। विभिन्न कम्पनीहरुले हकप्रदमा दावी नभएको सेयर लिलामीमार्फत बिक्रीका लागि सूचना जारी गरेका छन्।
हाल हकप्रद निश्कासन गरेका कम्पनीहरुको पनि शत प्रतिशत बिक्री नभएमा लिलामीमार्फत नै सेयर किन्न पाइनेछ। चुक्ता पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरुले निश्कासन गरेको हकप्रदमा बिक्री नभएर बाँकी रहेको सेयर लिलामीमार्फत बिक्री गरिन्छ।
लिलामीमा बिक्री हुने यस्ता सेयर बजार मूल्यभन्दा केही सस्तोमै पाइन्छ। यद्यपी कति सस्तो मूल्य तोक्ने भन्ने कुरा सेयर संख्या र त्यसमा पर्न सक्ने आवेदनअनुसार आफै अनुमान गर्न सकिन्छ।
प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँदेखि बजार मूल्यको हाराहारीमा तोक्न सकिन्छ। यसअघि लिलामी भएका कृषि विकास, सिटिजन्स, सानिमा, एनआइसी एसिया लगायत केही कम्पनीको उदाहरण हेर्ने हो भने बजार मूल्यभन्दा धेरै तोक्नेहरु पनि थिए।
लिलामीमा सेयर किन्दा प्रतिफारम १ सय रुपैयाँबाहेक अन्य शुल्क बुझाउनु पर्दैन। बजारमा किन्ने सेयरमा ब्रोकर तथा नियामक निकायलाई कमिसन, डिपी शुल्क समेत बुझाउनुपर्दा मूल्य थप महँगो पर्न जान्छ भने लिलामीको सेयरमा कुनै कमिसन र शुल्क तिर्नु पर्दैन।
कुन कुन कम्पनीको कहिले हुँदैछ लिलामी सेयर बिक्री ?एनआइसी एसिया बैंक : बैंकको असार १ देखि ८ गतेसम्म बैंकको लिलामी सेयर बिक्री खुला भएको छ। बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलका अनुसार सर्वसाधारणतर्फको कुल २ लाख ९८ हजार ५ सय ३६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागिएको हो।
इच्छुक लगानीकर्ताले एनआइसी एसिया बैंकमा रहेको एनआइसी एसिया क्यापिटलको खाता नं. ५४४४४५१०२५५२४००६ मा रकम बुझाउन सक्नेछन्। लिलामीको सिलबन्दी बोलपत्र असार ९ गते खुला हुनेछ। सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ रहेकोमा मंगलबार पनि त्यत्ति नै कायम भएको छ।
प्रभु इन्स्योरेन्सः प्रभु इन्स्योरेन्सको असार ७ गतेसम्म संस्थापकतार्फको कुल ५ हजार ३ सय ३४ र सर्वसाधारणतर्फको ४२ हजार ७ सय ८८ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलको नाममा प्रभु बैंकमा रहेको खाता नम्वर १३५११६०० ६३१८१६०००००७ मा रकम बुझाउन सक्ने छन्। मंगलबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ४० रुपैयाँ छ।
सिटिजन्स बैंकः बैंकको असार १५ देखि २१ गतेसम्म लिलामीको सेयर बिक्री खुला हुने भएको छ। संस्थापकतर्फको १ लाख ९९ हजार ३ सय १३ र सर्वसाधारणतर्फको ४ लाख २० हजार ४ सय ९० कित्ता बिक्री गर्न लागिएको प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ। इच्छुक आवेदकले सानिमा बैंक नक्सालमा रहेको सानिमा क्यापिटलको नाममा खाता नं. ००१०००१०५४४०७ मा रकम जम्मा गर्नुपर्नेछ। सोमबार कारोबार बन्द हुँदा सिटिजन्सको बजार मूल्य प्रतिकित्ता ३७३ रहेकोमा मंगलबार ३७५ रुपैयाँ छ।
टुरिजम डेभलपमेन्ट बैंक : बैंकको संस्थापकतर्फको कुल ४ लाख ३८ हजार २ सय र सर्वसाधारणतर्फको २ लाख ६६ हजार ५ सय ३७ कित्ता सेयर लिलामीमा बिक्री खुला हुने भएको छ। असार ७ देखि १५ गतेसम्म इच्छुकले बोलपत्र पेस गर्न सक्नेछन्। बिक्री प्रवन्धक एनआइबिएल क्यापिटलको नाममा कुमारी बैंक पुतलिसडकमा रहेको खाता नम्वर ०१२४५२४६१५४२५०१७ मा रकम बुझाउन सक्नेछन्। कम्पनीको मूल्य मंगलबार कारोबार सकिँदा प्रतिकित्ता ४२७ रुपैयाँमा रहेको छ।
नेपाल बैंक : नेपाल बैंकको सर्वसाधारणतर्फको १ लाख ८९ हजार ६ सय २९ कित्ता सेयर लिलाम बिक्री हुँदैछ। असार १३ देखि १९ गतेसम्म बोलपत्र पेस गर्न सकिने बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ। सिभिल क्यापिटल मार्केटको नाममा सिभिल बैंक कमलादीको शाखामा खाता नं. ००२१००००४८२०१८ मा रकम बुझाउन सक्नेछन्। बैंकको सेयर मूल्य मंगलबारसम्म बजारमा प्रतिकित्ता ३४४ रुपैयाँ कायम छ।
गरिमा विकास बैंक : असार १८ गतेदेखि २३ गतेसम्म यो बैंकको सेयर लिलामीमा बोलपत्र पेस गर्न सकिन्छ। बिक्री प्रवन्धक एस क्यापिटलको नाममा एस डेभलपमेन्ट बैंक नारायणचौरमा रहेको खाता नम्वर ००११०४३९०१ सीए ६ मा रकम जम्मा गर्न सक्नेछन्। २५ गते बोलपत्र खोलिने क्यापिटलले जनाएको छ। मंगलबारसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ रहेको छ।
डिप्रोक्स लघुवित्त : चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको यस लघुवित्तको असार ४ देखि ११ गतेसम्म बिक्री खुला भएको छ। सर्वसाधारणतर्फको कुल १५ हजार ९ सय ६९ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। लगानी गर्न चाहनेले नविल इन्भेष्टमेन्ट बैंकिङको नाममा नविल बैंकको खाता नम्वर ३५०६०१७५००००६ मा रकम बुझाई सोको भौचरका साथमा आवेदन दिन सक्नेछन्। मंगलबारसम्म कम्पनीको सेयर मूल्य १३२५रुपैयाँ छ।
कसरी किन्ने त लिलामीको सेयर ?लिलामी सेयर बिक्रीको अवधिमा बिक्री प्रवन्धक कम्पनीमा गई एक सय रुपैयाँमा फारम किन्नुपर्छ। आफूले किन्न चाहेको सेयरको कुल रकम विक्रि प्रवन्धकको नाममा रहेको तोकिएको बैंकको खाता नं.मा जम्मा गर्नुपर्दछ।
बैंकमा रकम जम्मा गरिसकेपछि त्यसको भौचरको साथमा भरिएको फारम सिलबन्दी गरी बिक्री प्रवन्धककोमा बुझाउनुर्दछ। बिक्री बन्द भएको मितिको पर्सिपल्टसम्म वा सार्वजनिक बिदा नपरेमा अर्को दिन नै सिलबन्दी खोली बाँडफाँड गरिन्छ। प्रतिकित्तामा धेरै मूल्य दिनेलाई प्राथमिकतामा राखेर बाँडफाँड हुने भएकाले उपयुक्त मूल्य तय गर्नुपर्दछ।