पुराना नेपाली नोटका प्रदर्शनीमा करिब पाँच लाख बराबरको नोटको खरिद बिक्री भएको छ ।
नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्णोत्सवका उपलक्ष्यमा यही असार २३ गतेदेखि नेपाल कला परिषद्मा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा करिब दुई हजार सहभागी भएको जनाइएको छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका नोट प्रदर्शनीमा विसं २००२ मा छापिएका ५, १० र १०० तथा त्यसपछि छापिएका नोट राखिएको थियो । पैंसठ्ठी मुलुकका नोट पनि उक्त स्थलमा समावेश गरिएको थियो ।
प्रदर्शनीमा सहभागी मुद्रा सङ्कलक जयहरि झाले सर्वसाधारणलाई पनि नोट जतन गरी सङ्कलन गर्नुपर्ने सुझाव दिँदै त्यसबाट कारोबारसमेत गर्न सकिने बताए। सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले नेपालमा विभिन्न समयमा भएका नोटको उत्पादन तथा त्यसको विकास क्रमबारे जानकारी गराउन प्रदर्शनी उपयोगी भएको बताए। रासस