पछिल्ला दिनमा बिमा कम्पनीहरुमा सेयर लगानीकर्ताको आकर्षण बढेको छ। कतिपय लगानीकर्ताले बैंकको सेयर बेचेर बिमामा लगानी थुपार्न थाल्दा बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। आइतबार र सोमबारको कारोबारले त्यसलाई छर्लङ्ग पार्छ।
सोमबार बैंकिङ समूह १५ अंकले ओर्लियो भने बिमा १०० अंकले बढ्यो। आइतबार बैंकिङ समूह १४ अंकले झर्दा बिमा समूह २७५ अंकले उक्लिएको थियो। त्यति मात्रै होइन पछिल्ला दिनमा बैंकभन्दा बिमाको कारोबार उच्च छ।
सामान्यतः बिमाभन्दा बैंकिङ समूहको कारोबार उच्च रहने गरेकोमा हालका दिनमा बिमाको कारोबार उच्च देखिन्छ। सोमबार वाणिज्य बैंक समूहभन्दा बिमा समूहको कारोबार दोब्बर बढी भएको छ। वाणिज्य बैंक समूहको २४ करोड ६५ लाखको कारोबार हुँदा बिमा समूहको ५२ करोड ८८ लाखको कारोबार भयो।
सोमबारको कुल कारोबारमा यो रकम आधा हुन आउँछ। यस दिन कुल १५३ कम्पनीको १ अर्ब ६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यसरी बिमा कम्पनीहरुमा लगानीकर्ता ओइरिनुको मुख्य कारण हकप्रद र बोनसको प्रलोभन नै हो।
लगानीकर्ता संघका महासचिव नवराज सुवेदी बिमाहरुको ठूलो परिमाणमा हकप्रद र बोनस आउने भएकाले नै त्यतातिर आकर्षण बढेको स्वीकार्छन्। ‘बिमामा लगानीकर्ताको चाप देखिनुको मुख्य कारण नै उनीहरुको चुक्ता पुँजी वृद्धिको कारण हो’ उनले भने।
यसै आर्थिक वर्षभित्र बिमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनुपर्ने वाध्यात्मक व्यवस्था रहेकाले लगानीकर्ता ठूलो मात्रामा हकप्रद र बोनस पाउने आशामा छन्। नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबैको पुँजी तोकिएभन्दा न्यून छ।
कस्तो रह्यो सोमबारको समग्र बजारबैंकिङ समूह नै ओरालो लागेपछि बिमासहित केही समूहको वृद्धिले बजारलाई प्रभाव पार्न सकेन। यस दिन बिमासँगै फाइनान्स २ र उत्पादन समूह ३९ अंकले बढेको छ। बैंकिङसँगै होटल २६, विकास बैंक ७, जलविद्युत ४ र अन्य समूह ०.५ अंकले घटेका छन्।
बिमाको वृद्धिले नेप्सेको अंकलाई प्रभाव नपारे पनि कारोबार रकममा भने प्रभाव देखिएको छ। १ अर्ब ६ करोडको कारोबार भएको छ। सानिमा माई हाइड्रोको सबैभन्दा धेरै रकमको कारोबार भयो। सो कम्पनीको ८ करोड ७९ लाखको सेयर किनबेच भयो।
उसको कारोबार बढ्नुको प्रमुख कारण हकप्रदका लागि सेयर किन्नुपर्ने दिन अन्तिम हुनु हो। भोलि बुक क्लोज भएकाले उसको कारोबार उच्च भएको हो। कम्पनीले शत प्रतिशत हकप्रद सेयर दिँदैछ।
कारोबारका आधारमा दोस्रोमा रह्यो नेपाल लाइफ इन्स्योरेन्स। बिमामा सबैभन्दा मजबुत कम्पनी भए पनि चुक्ता पुँजी पुगेकाले घटेको मूल्यमा उठाउनेहरु सक्रिय हुँदा उसको ६ करोड २७ लाखको कारोबार भयो। नेसनल हाइड्रोको ५ करोडको कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्सको ४ करोड ५० लाखको कारोबार भयो।
समग्र बजार घट्दा ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नेसनल हाइड्रो, अरुण फाइनान्स, हिमालय डिस्टिलरी र राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक दुवैतर्फको मूल्य १० प्रतिशतले बढ्यो। नाफा कमाउने अन्यको वृद्धिदर ७ प्रतिशत मुनि रह्यो। गुराँस फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत मूल्य गुमाए।