सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला प्रबन्धक सिर्जना पौडेलले बताइन्।
अन्य जिल्लाको तुलनामा छोटो समयमा चितवनमा धेरैले बीमा गराएको पौडेलले बताइन्। जिल्लामा १३५ जना अभिकर्तामार्फत बीमा गराउने काम भइरहेको छ । पौडेलका अनुसार अभिकर्ताले एक महिनामा ५० हजारसम्म आम्दानी गरेका छन् । पाँचजनासम्मको परिवारलाई वार्षिक दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप गर्नुपर्ने हुन्छ ।
संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँछन् । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति १० हजारसम्मको बीमा रकम थपिने छ । जसमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।
जिल्लाको भरतपुर अस्पताल, दुई मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौंडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफर अस्पतालका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् ।
थोरै रकमबाट ढुक्कसँग ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको हो । रासस