साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ८ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से परिसूचक १६५३ अंकमा कायम भएको छ।
आज कारोबार रकममा पनि गिरावट आएको छ। कुल १६१ कम्पनीको ९२ करोड ७९ लाखको कारोबार भयो। बजारको पुँजीकरण १९ खर्ब ३९ अर्ब पुगेको छ।
यस दिन फाइनान्स र उत्पादन समूह मात्रै बढेका छन्। ति समूह क्रमशः १ र १२ अंकले बढे। वाणिज्य बैंक समूह ९, होटल ४, विकास बैंक १२, जलविद्युत २, बिमा १६ र अन्य समूह ३ अंकले घटेका छन्।
यस दिन नागरिक लगानी कोषको सबैभन्दा धेरै रकम ६ करोड ६४ लाखको कारोबार भयो। दोस्रोमा रहेको स्टान्डर्ड चार्टड बैंकको ४ करोड ६० लाखको खरिदबिक्री भएको छ।
प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत नाफा कमाए भने कुबेर मर्चेन्ट र लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले साढे ९ प्रतिशत बढी मूल्य गुमाए।
यसैबीच हालै आइपिओ जारी गरेर बाँडफाँड गरेको हिमालयन पावर पार्टनरको नयाँ सेयर सूचीकृत भएको छ। कुल १ करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर सूचीकृत भएको छ। अब लगानीकर्ताको डिम्याट खातामा सेयर आइसकेपछि खरिदबिक्रीका लागि बाटो खुल्नेछ। सिद्धार्थ डेभलपमेन्टसँग मर्ज भइसकेपछि जनताको थप सेयर पनि बजारमा सूचीकृत भएको छ।