नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लगानी व्यवस्थापन अर्थात पोर्टफोलियो म्यानेजमेन्टको सेवा थालनी गरेको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक अनुकूल भटनागरले उक्त सेवाको सुभारम्भ गरे।
व्यक्तिगत तथा संस्थागत दुवै सेवाग्राहीलाई लक्षित गरी प्रचलनमा ल्याइएको यो सेवा लगानीको गुणस्तर, बृद्धि, दिर्घकालीन लाभ र मूल्यमा आधारित उपयुक्त छनौट सिद्धान्तलाई अनुसरण गरी तर्जुमा गरिएको छ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको लगानी व्यवस्थापन अन्तर्गत ब्यक्तिगत लगानीकर्ता लक्षित इक्वीटी, प्रुडेन्ट, धनबृद्धि पोर्टफोलियो गरी चार योजना रहेका छन्। त्यस्तै संस्थागत लगानीकर्ता लक्षित कर्पोरेट पोर्टफोलियो योजना रहेको छ।
लगानीकर्ताको लगानी क्षमताका आधारमा फरक फरक लगानी अवधि तथा लगानी सीमा एवं ग्राहकको चाहना÷इच्छा अनुसार छोटो समयमै प्राप्त हुने प्रतिफल सहजै फिर्ता वा पुन लगानी गर्न सकिने जस्ता विशेषताहरु ति लगानी व्यवस्थापन सेवामा रहेका छन्। एनएसएमबिएलले सञ्चालनमा ल्याएको लगानी व्यवस्थापनका योजनाहरु स्वेच्छिक (डिस्क्रिशनरी) तथा गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) गरी दुवै किसिमका छन्।
उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, नेपाल एसबिआई बैंकका नायव सिईओ तथा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत प्रियरंजन, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो।
यो मर्चेन्ट बैंकिङ्क नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्वको सहायक कम्पनी हो।