नेप्से मंगलबार करिब १३ अंकले झरेको छ।
१२. ९७ अंकको गिरावटपछि १६२९ अंकमा नेप्से अडेको छ। यस दिन १६० कम्पनीहरुको कारोबार भएकोमा १२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
३३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। कुल १६ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ७८ क्रोड ३६ लाखको कारोबार भयो।
होटलबाहेक सबै समूह ओर्लिएका छन्। सो समूह ३ अंकले बढेको छ। बैंकिङ १०, विकास बैंक १३, जलविद्युत २४, फाइनान्स ३, बिमा ८८ र अन्य समूह ५ अंकले ओर्लिए।
नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै रकमको कारोबार भयो। उसको ४ करोड ६१ लाखको कारोबार हुँदा मूल्य सामान्य बढेर प्रतिकित्ता १६५ कायम भएको छ।
यसअघि नियमित साधारणसभा गर्न नसकेको कम्पनीको मंगलबार साधारणसभा भएको छ। सभामा सर्वसम्मतिमा संचालक समिति छनौट भएपछि कारोबार बढ्न गएको हो।
प्रुडेन्सियल इन्स्योरेन्स संस्थापकतार्फको ३ करोड ८४ लाखको कारोबार भयो। स्टान्डर्ड चार्टड, नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
नाफाका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो। यति डेभलपमेन्टसँग मर्ज भएपछि हालै सस्तो मूल्यमा कारोबार खुल्दा उसको मूल्य १० प्रतिशतले बढेको हो। वर्ल्ड मर्चेन्ट बैंकिङको मूल्य साढे ९ प्रतिशत बढीले बढेको छ।
गुमाउनेमा हिमालयन डिस्टिलरीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य साढे ९ प्रतिशतले घटेको छ। केही दिनयता उसको मूल्य बढिरहँदा वित्तीय स्थिति सोचेजस्तो नआएपछि कम्पनीको मूल्य प्रतिकित्ता १९५ ले घटेर १८५५ कायम भएको छ। छ्याङ्दी हाइड्रोको मूल्य ९ प्रतिशतले घटेको छ।