कुबेर मर्चेन्ट फाईनान्सको साधारणसभाले कम्पनीको नाम परिवर्तनसम्वन्धी प्रस्तावलाई पारित गरेको छ। सिटी एक्स्प्रेस इन्टरनेसनल फाइनान्सको नामबाट कम्पनी संचालन गर्नेगरी ११ औं सभाले प्रस्ताव पारित गरेको हो।
सभामा अर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधनसँगै पूँजी वृद्धिसम्वन्धी प्रस्तावहरु पारित भएको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिए।
यद्यपी यी निर्णयहरु नियामक निकायहरुको स्विकृती पछि लागू हुनेछ। साथै नयाँ लगानीकर्ता समेतको प्रतिनिधित्व गर्दै चन्द्र टण्डन र सन्दिप शर्मा नयाँ संचालक सदस्यमा निर्वाचित भएका छन्। टण्डनलाई अध्यक्षमा चयन गरिएको कम्पनी सचिव घिमिरेले जानकारी दिए।
संचालक पदमा निर्वाचित भए पश्चात् शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने तथा सबै शेयर सदस्यहरुको राय एवं सुझाव लिई संस्थालाई एक प्रतिष्ठित वित्तीय संस्थाको रुपमा स्थापित गराउने टण्डनले उद्घोष गरे।
संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने उनको भनाइ छ। यसअघि राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको यो फाइनान्स नयाँ लगानीकर्ताले जिम्मा लिएका हुन्।