कतार सरकारले विदेशी कामदारहरुलाई काम लगाउँदा रोजगारदाताले अब उप्रान्त न्युनतम ७ सय ५० रियल (करिब २१ हजार ४ सय) मासिक तलब दिनुपर्ने अस्थायी व्यवस्था गरेको छ।
यो तलबसहित रोजगारदाताले कामदारलाई खान, बस्न तथा स्वास्थ्य सुविधा समेत दिनुपर्ने प्रावधान अस्थायीरुपमा सुरु गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ।
कतारका श्रम मन्त्री इसा अलनउमीले समाचार संस्था एफपीलाई सो कुरा बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
मन्त्री नउमीले सो न्युनतम तलबको अस्थायी व्यवस्थालाई तत्काल कार्यन्वयनमा ल्याइने तथा स्थायी तलब कति तोक्ने भन्नेमा सरकारी अधिकारीहरु छलफलमा रहेको समेत बताएको सञ्चार माध्यमहरुले जनाएका छन्।
त्यस्तै उनले आगामी दिनमा न्युनतम सेवा सुविधामा सुधार गरिँदै लैजाने समेत बताएका छन्। उनले भने, ‘यदि रोजदारदाताले प्रति महिना ७ सय ५० कतारी रियलभन्दा कम तलब कामदारलाई दिन खोज्छन् भने त्यस्ता सम्झौतालाई हामी (श्रम मन्त्रालय) पास गर्नेछैनौँ।’
कतारले सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको छ। यसका लागि पूर्वाधार निमाणमा खटिएका विदेशी कामदार माथि व्यापक श्रम शोषण भएको भन्दै सर्वत्र आलोचना भएपछि कतारले गत महिनादेखि कामदारको न्युनतम हक सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरेको थियो।
यसै अनुसार उसले पहिलो पटक विदेशी कामदारको न्युनतम तलब निर्धारण गरेको हो। कतारमा नेपालीसहित करिब २० लाख विदेशी कामदारहरु कार्यरत छन्। तलब सुविधामा आएको यस परिवर्तनले त्यहाँ रहेका नेपाली कामदारहरु समेत प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।
यद्यपी नयाँ तलव सुविधा निकै कम भएको कतारमा कामदार पठाउँदै आएका देशहरुले प्रतिक्रिया दिएका छन्। कतार जाने नेपाली कामदारको हकमा ९ सय रियाल तलव सुविधा पाएपछि मात्रै श्रम स्वीकृति दिइँदै आएको छ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा कतारका लागि २० हजार २९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। गत वर्षको यस अवधिमा नेपाली कामदारको पहिलो गन्तव्य बनेको कतारलाई अहिले भने मलेसियाले जितेको छ।
चालु आवको तीन महिनामा ३१ हजार २ सय ७७ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। जेठ २२ देखि कतारमाथि छिमेकी देशहरुले नाकाबन्दी गरेसँगै कतारको रोजगारी प्रभावित भएको सम्बद्ध अधिकारीहरु बताउँछन्।