कात्तिक महिनामा विदेसिनेहरु बढेका छन्।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सो महिनामा कुल २८ हजार ५२२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जवकि असोजमा २४ हजार ५६९ जनाले यस्तो स्वीकृति लिएका थिए। असोजमा दसैँ परेकाले दसैँलगत्तै विदेसिनेहरुको संख्या बढेको हो।
कात्तिकमा मलेसियाका लागि सबैभन्दा धेरै ८ हजार ८७३ जनाले स्वीकृति लिएका छन्। चालु आर्थिक वर्षका सुरुका महिनादेखि नै मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य बन्दै आएको छ।
गत कात्तिकमा २७ हजार ६९९ जनाले संस्थागत रुपमा विभागबाट श्रम स्वीकृति लिएका थिए। सो वर्ष सबैभन्दा धेरै कतारका लागि ९ हजार ७३८ ले श्रम स्वीकृति लिएका थिए। गत वर्षको कात्तिक महिनामा साउदी दोस्रो र मलेसिया तेस्रो उत्कृष्ट गन्तव्य थियो।
साउन, भदौ र असोज महिनामा ९२ हजार ७२२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जवकि गत वर्षको साउन, भदौ र असोजमा ९५ हजार १९३ जनाले श्रम स्वीकृति लिएका थिए।