लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका पदमा ३९० कर्मचारी माग गरेको छ। सार्वजनिक सूचनामार्फत आयोगले खुला तथा समावेशीबाट कुल ३९० पदको लागि दरखास्त मागेको हो।
न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरिएको छ। महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि विभिन्न पदमा आरक्षण दिइएको छ।
अनलाइनबाटै दरखास्त फारम भरी आगामी पुस १८ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुरमा भने पुस २५ गतेसम्मको म्याद राखिएको छ। अनलाइबाट दरखास्त दिँदा आफ्नो फोटो, हस्ताक्षर, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव, समावेशी विवरण समेत स्क्यान गरी अपलोड गर्नुपर्नेछ।
आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार, समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको लागि थप छुट्टाछुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ।
परराष्ट्र तथा प्रशासन सेवाको लागि स्नातक तह, प्रशासन तथा लेखा समूहका लागि व्यवस्थापन वा वाणिज्य वा व्यापार प्रशासनमा स्नातक गरेको प्रमाणपत्र हुनुपर्नेछ। न्याय सेवाको लागि कानूनमा स्नातक र लेखा परीक्षणको लागि व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टड एकाउन्टेन्सी वा सोरहको योग्यता हुनुपर्नेछ।
आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर दरखास्त जम्मा गर्न सकिने छ।