सर्लाही बाग्मती नगरपालिकाका धर्मेन्द्र चमार आज काममा गएनन्। हातमा रेकर्ड फाइल(कागजपत्र) र मनमा अशा बोकेर बानेश्वर स्थित बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय हानिए।
हिजो मात्र धर्मेन्द्रले विदेशबाट आउनेहरुले सहुलियत ऋण पाउँछन् भन्ने सुनेका रहेछन्। करिव २६ महिना कतारबाट काम गरेर फर्किएका उनले मासिक ७ सय ५० कतारी रियाल अर्थात करिव २३ हजार नेपाली कमाउथे। त्यही पनि समयमा कहा पाउनु?
‘६ महिनाको त तलब नै पाइनँ, फर्केर आएँ’ धर्मेन्द्रले सेतोपाटीसँग भने। देश फेरियो, समय फेरियो तर उनको नियति फेरिएन। कतारबाट फर्किएपछि पनि उनी काठमाडौंमा लेबरकै काम गर्न थाले।
‘पैसा नभएपछि काम गर्न परिहाल्यो नी, सरकारले ऋण दियो भने म काठमाडौंमै किराना पसल खोल्छु’ उनले भने ‘जाँदा नै डेढ लाख ऋण लाग्यो। सावाँ र व्याज तिर्नै हम्मे हम्मे पर्यो। एक चोटी गइयो धोका खाएर आइयो, अब त नजाने।’
खोटाङका छिरिङ शेर्पालाई पनि अब विदेश जान मन छैन। युएईमा करिव १० वर्ष सेक्युरिटी गार्डको काम गरे, ३ महिना मात्र भयो नेपाल फर्किएको।
सहुलियत ऋण पाउने सुनेपछि ४ दिन अगाडि मात्र काठमाडौं झरेका रहेछन्। सरकारबाट पाउने ऋणको पैसाले उनी आफ्नो परिवारले चलाउँदै आएको होटललाई राम्रो बनाउन चाहन्छन्।
‘बरु यही ढिँडो–खोले खाने तर अब विदेश नजाने। परिवारसँग हुँदा दुख बिमार पर्दा सजिलो, परिवारलाई पनि हेरचाह गर्न सकियो। अनि देशको लागि पनि राम्रो हो,’ शेर्पाले सेतोपाटीसँग भने।
धमेन्द्र चमार र छिरिङ शेर्पा प्रतिनिधी पात्र मात्र हुन्। उनीहरु जस्तै १७ हजार भन्दा धेरै युवाले सरकारले बिना धितो सहुलियत ऋण दिने आशामा आवेदन दिएका छन्।
मंसिर ६ गतेबाट अन्तिम दिन पुस मसान्तसम्म १७ हजार भन्दा धेरैले आवेदन भरेको वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डका प्रवक्ता दिनबन्दु सुवेदीले जानकारी दिए।
फारम हातमा बोकेर ऋणको आवेदन दिन लामवद्ध भएर बसेका युवाहरु कोही ऋण पाउनेमा अशावादी थिए भने कोही अलमलमा थिए। अहिले दिने भनिएको सहुलियत कर्जा वैदेशिक रोजगारी प्रवद्र्धन बोर्ड वा सरकारले दिने होइन। यो कर्जा नेपाल सरकारको सिफारिसमा ‘क’ वर्गका बाणिज्य बैंकहरुले ५ वर्षका लागि कम व्याजमा दिन लागेका हुन्।
योे ऋणमा ५ प्रतिशत व्याज अनुदान पाइन्छ। अर्थात ऋण लिएवापत बैंकलाई तिर्नुपर्ने व्याजमा ५ प्रतिशत सस्तो पर्न आउँछ। कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरी फर्केका युवाले स्वदेशमै व्यवसाय गर्न यस्तो ऋण पाउँछन्। ऋण लिने व्यक्ति विदेशबाट फर्केको ३ वर्ष नाघेको हुनु हुँदैन।
यसरी ऋण लिँदा जुन व्यवसाय गर्न थालिएको छ, त्यो नै धितो हुन्छ। थप सम्पत्ति धितो राख्नु पर्दैन। बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडेर पर्न आउने व्याजमा सरकारले ५ प्रतिशत तिरिदिन्छ।
८ प्रतिशत आधार व्याजदर भएको बैंकबाट ऋण लिँदा व्याज ५ प्रतिशत मात्रै पर्न आउँछ। राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर सबैभन्दा कम ६. ३३ प्रतिशत मात्रै छ। सो बैंकबाट लिँदा ऋणीले ३. ३३ प्रतिशत मात्रै व्याज तिरे पुग्छ।
यसका लागि व्यवसाय गर्ने युवाले व्यवसायको बारेमा विस्तृत ढाँचा भने उपलव्ध गराउनुपर्छ। सो व्यवसायको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ। बीमा गर्दा पनि प्रिमियम रकम २५ प्रतिशत मात्रै तिरे पुग्छ। बाँकी ७५ प्रतिशत राष्ट्र बैंकको शोधभर्ना खाताबाट हुन्छ।
सरकारको यो कदम स्वदेशमै केही गर्छु भन्नेहरुको लागि ठूलै राहत हो। यो कार्य सफल हुन सकेमा धर्मेन्द्र बेल्चा छोडेर किराना पसलको साहु बन्ने छन्। छिरिङको होटल पनि ठूलो हुनेछ। उनीहरु मात्र होइन विदेशबाट फर्केका यस्तै हजारौ युवाहरुले भन्ने छन् ‘बरु ऋण थपियोस्, अब त विदेश जान्नँ।’
तस्वीरः सुधिर भण्डारी/सेतोपाटी