राष्ट्रिय जनगणना २०७८ मा खटिने गणकहरु शिक्षकभन्दा विद्यार्थी प्राथमिकतामा पर्ने भएका छन्।
केन्द्रीय तथ्यांक विभागले यो पटक गणक छनौट गर्दा शिक्षक तथा कर्मचारीभन्दा निश्चित शैक्षिक योग्यता पूरा गरेका वेरोजगार युवाहरुलाई प्राथमिकता दिने भएको छ।
यसअघिका जनगणनामा शिक्षक र कर्मचारीहरु नै धेरैजसो गणकका रुपमा खटिन्थे। तर यो पटक सरकारले नै सकेसम्म शैक्षिक योग्यता भएका वेरोजगार युवाहरुलाई प्राथमिकता दिन भनेपछि छनौटको मापदण्ड यस्तो बनाइएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।
यो पटक गणकको रुपमा खटिनेमा शिक्षक प्राथमिकतामा नपर्नुको पहिलो कारण कोरोनाका कारण विग्रिएको शैक्षकिशत्र प्रभावित नहोस भन्ने हो।
'त्योसँगै देशमा बेरोजगारकै संख्या नौ लाख रहेको छ। एक महिनाका लागि भएपनि केहीले रोजगारी पाउन् भन्ने उद्देश्यले यस्तो निर्णय भएको हो' रेग्मीले सेतोपाटीसँग भने।
विभागले यसअघि गरेका अन्य सर्वेक्षण तथा गणनामा पनि विद्यार्थी परिचालन गरेको थियो। यसरी विद्यार्थी परिचालन गर्दा तथ्यांक संकलनको गुणस्तरमा कुनै बाधा नपरेपछि योपटकको जनगणनामै संख्या बढाउने विश्वास बढेको रेग्मीको भनाइ छ।
सरकारका लागि विद्यार्थीभन्दा शिक्षक खटाउँदा आर्थिक रुपमा फाइदा हुन्छ। शिक्षकलाई खटाउँदा काजमा लिइन्छ। यसरी लिंदा खाइपाइ आएको तलबको पचास प्रतिशतमात्र दिइन्छ। तर विद्यार्थी खटाउँदा भने एक महिनाका लागि खरिदार सरहको तलब दिइन्छ।
अहिले विभागले जनगणनाका लागि तय भएका प्रश्नावली लिएर फिल्डमा जाने ३९ हजार गणक छनौटको तयारी गरिरहेको छ। ३९ हजारको माग गर्दा यसमा १ लाख ८९ हजारले आवदेन दिएका छन्।
१२ कक्षा पास भएका र ४० वर्ष ननाघेकामात्र योग्य हुने यसको छनौट अहिले चलिरहेको रेग्मीले जानकारी दिए।
जगणनामा गणक बाहेक ८ हजार ५ सय सुपरीवेक्षक खटिने छन्। यसका लागि विभागले खुला प्रस्ताव आव्हानबाट यसको सूचीकरण भइसकेको रेग्मीले जानकारी दिए। विभागले अहिले ११ हजारलाई सूचीकरण गरेको छ। यही सूचीबाट जिल्ला जनगणना कार्यालयले सुपरीवेक्षक छनौट गर्ने छन्।
स्थानीय जिल्ला जनगणना कार्यालयमा भने शिक्षक तथा कर्मचारीहरु काजमा खटिने रेग्मीले जानकारी दिए। यो पालिको जनगणनामा शिक्षको सबैभन्दा धेरै सहभागिता भनेको प्रशिक्षकमा हो। गनणनामा खटिनेहरुलाई प्रक्षिण दिनका १५ सय यस्त प्रशिक्षक छनौट भएका छन्। यिनिहरुले भने सेवा सुविधामात्र पाउने छन्।
वैशाख २६ देखि सुरु हुने जनगणनाको प्रक्रिया असार ८ मा गएर सकिने छ। सुरुमा वैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण हुने छ। यो काम सुपरिवेक्षकले गर्ने छन्। यसरी आएको सूचीकरणको आधारमा एक सुपरीवेक्षकले चारजना गणकहरु लिएर मुख्य प्रश्नावली लिएर जेठ २५ देखि असार ८ सम्म फिल्डमा जाने छन्। त्यस्तै सामुदायिक प्रश्नावली भने वडा कार्यालय मार्फत् जाने छन्।
जनगणना सम्पन्न भएको तीन महिनाभित्र प्रारम्भिक तथ्यांक सार्वजनिक हुने छ।