काममा कति समय खट्ने? सामान्यतया कार्यालयलाई धेरैले छ-आठ घन्टा समय दिन्छन्। तर कतिपय व्यक्तिहरू रोजीरोटीका लागि दिनरात भन्दैनन्। जति धेरै काम गर्यो, कमाइ उति बढ्ने भएपछि खटिरहन्छन्।
यसरी दिनरात खट्नेमध्ये एक हुन् ४० वर्षीया रमा घिसिङ। उनको रोजीरोटीको माध्यम हो 'सहारा राइड सेयरिङ।'
रमालाई आफ्नो आम्दानीको यात्रामा साथ दिएको छ सुन्तले रङको होन्डा डियो स्कुटरले।
'यही स्कुटरमा दैनिक २० जनालाई गन्तव्यसम्म पुर्याइरहेकी छु,' उनले आफ्नो स्कुटर देखाउँदै भनिन्।
रमासँग गत साता सुकेधारास्थित सहारा कम्पनीको कार्यालय अगाडि हाम्रो भेट भएको थियो। स्कुटर पार्किङमा राखेर घामको न्यानो लिँदै उनी मोबाइलमा यात्रुको बुकिङ हेर्न व्यस्त थिइन्।
उनको काम अनुभवबारे कुराकानीका लागि अनुरोध गर्दा स्वीकृति दिँदै ठट्यौली पारामा भनिन्, 'बुकिङको प्रतिक्षामा छु। मोबाइलमा घन्टी बज्नासाथ स्कुटर गुडाउनुपर्छ, के गर्ने होला?'
फेरि थपिन्, 'ठिकै छ! मेरो अनुभव अरूलाई प्रेरणादायी पनि बन्न सक्छ। बरू कुराकानी पो कताबाट सुरू गर्ने?'
हँसिली रमा फरासिली रहिछन्। बेलाबेला ठट्टा पनि गर्छिन्।
'यात्रुलाई खुसी बनाउनुपर्यो। एकपटक राम्रो बन्न सकियो भने यात्राका लागि फेरि फोन आउँछ,' विगत ६ महिनादेखि यात्रुलाई आफ्नो स्कुटरमा राखेर गन्तव्यमा पुर्याउन थालेकी रमाले भनिन्।
रमाका थुप्रै नियमित यात्रु पनि छन्। उनीहरूले अफिस र घर पुर्याउने जिम्मै रमालाई दिएका छन्। यसले काममा थप ऊर्जा मिलेको उनी बताउँछिन्। यही कामबाट उनको जीविका धानिएको छ।
'राइडमा निस्केको दिन दुई हजारभन्दा बढी कमाउँछु। सधैं खट्नुपर्छ भन्ने हुँदैन। सक्दा गर्ने, नसक्दा आराम गर्ने। जागिरमा यस्तो सुविधा हुन्छ र?' उनी आफ्नो काममा सन्तुष्ट छिन्।
उनका अनुसार राइड सेयरबाटै महिनामा ७० हजार रूपैयाँ कमाउँछिन्। सवारीसाधन, मोबाइल र अरू खर्च कटाएर मासिक ३० हजार बचत गर्छिन्।
'स्वदेश बसेर ३० हजार बचत गर्न सकिन्छ भने तातो घाममा पसिना बगाउन किन जाने परदेश?' रमा उल्टै प्रश्न गर्छिन्।
यो सन्तुष्टिमा काम प्रतिको उनको लगावकै देन छ। बिहान दस बजे डेराबाट निस्किने उनी बेलुका फर्किने टुंगो हुँदैन। मोबाइलमा चार्ज टिकेसम्म र बुकिङ आएसम्म राती १२ बजेसम्म पनि सडकमै बस्ने उनी बताउँछिन्।
उनलाई दिउँसोभन्दा बेलुका यात्रा गर्न सहज लाग्छ। सडकमा सवारीसाधन संख्या कम हुने र जाम नहुने भएकाले बेलुका सजिलो महसुस गर्छिन्। दिउँसोको तुलनामा बेलुका यात्रु पनि धेरै आउँछन्।
रमाका अनुसार प्रायः अस्पताल क्षेत्रबाट बेलुकाको बुकिङ आउँछ। सहारा एपमा अरूका लागि पनि बुकिङ गर्न मिल्ने भएकाले एक जना मात्र होइन, कहिलेकाहीँ परिवारलाई नै घर पुर्याउनुपर्छ।
रातको समयमा जोकोहीलाई काम गर्न धक लाग्छ। डर पनि हुन्छ। तर उनी निर्धक्क काठमाडौंका सहर स्कुटरमा चहार्छिन्। अहिलेसम्म कुनै नमिठो घटना खेप्नु नपरेकोमा सन्तोक मान्छिन्। बरू उनलाई सडकका खाल्डाखुल्डीले कहिलेकाहीँ अप्ठ्यारो पार्छ, अँध्यारा बाटामा समस्या हुन्छ।
आफूले धेरै यात्रुलाई सेवा दिएवापत कम्पनीबाट बोनस पनि पाएको उनले खुसी हुँदै सुनाइन्। हेलमेट, ज्याकेट, टिसर्ट लगायत उपहार पाएकी छन् उनले। राइड सेयरिङ कम्पनी सञ्चालनमा आएसँगै धेरै महिलाले रोजगारी पाएका छन्। धेरै यात्रुले महिला राइडरलाई प्रोत्साहित पनि गर्ने उनको अनुभव छ।
'महिला भएर पनि यति राम्रो राइडिङ गर्नु हुँदोरहेछ, फेरि पनि तपाईंकै स्कुटरमा यात्रा गर्न पाइयोस् भन्छन्,' उनी यात्रा अनुभव सुनाउँछिन्, 'त्यति मात्र होइन, चिया खानुस् है भन्दै टिप्स पनि थमाइदिनु हुन्छ।'
महिनामा हजार रूपैयाँ जति टिप्स आउने उनी बताउँछिन्। तर महिला भएकै कारण केही यात्रुले भरोसा नगर्ने समस्या पनि छ।
उनी गुनासो पोख्छिन्, 'महिला भए पनि राइडरले दिने सबै सुविधा दिएकै हुन्छु। तर कहिलेकाहीँ यात्रुले महिला भएकै कारण बुकिङ रद्द गर्छन्। त्यो बेला दुःख लाग्छ।'
रमा काठमाडौंमा एक्लै आफ्नो जीवनको पांग्रा चलाइरहेकी महिला हुन्। उनको अन्तरजातीय बिहे भएको थियो। प्रेमपछि भागी विवाह गरेकाले परिवारसँग उनी सम्पर्कमा छैनन्।
उनका अनुसार आजभन्दा १९ वर्षअघि, छोराछोरी हुर्किँदै गर्दा उनका श्रीमानले अर्को बिहे गरे। उनी दुई सन्तान लिएर श्रीमानबाट अलग बस्न थालिन्। २०६९ सालमा आएर सम्बन्धविच्छेद गरिन्।
'अब एक्लै छोराछोरीलाई कसरी पढाउने, के गर्ने भनेर निकै तनाव खेप्नुपर्यो,' उनले श्रीमानसँग अलग भएपछिको अवस्था सम्झिँदै भनिन्, 'तर अभाव र दुःखमा झेलेको जीन्दगीले नै केही सिकाउने रहेछ।'
घरखर्च धान्न, छोराछोरी हुर्काउन-पढाउन उनले तिलगंगा आँखा अस्पतालबाहिर चिया पसल खोलिन्। अस्पताल क्षेत्रमा व्यापार राम्रै हुन्थ्यो। पसलमा छोरीले सघाउँथिन्। चिया बेचेरै उनले घर चलाइन्, छोराछोरीलाई स्नातकसम्म पढाइन्।
'श्रीमानकै कमाइले मात्र घरखर्च चल्छ, चलिरहेकै छ भन्नेहरू धेरै छन्। तर एकल महिलाले पनि घर चलाउन सक्छन् भन्ने उदाहरण बनेँ,' रमा गर्वसाथ भन्छिन्।
उनले सत्र वर्ष चिया बेचिन्। छोरीको बिहेपछि समय दिन भ्याइनन्। पकाउनको भ्याइनभ्याइ, फेरि कहिले चियापत्ति सकिन्थ्यो कहिले चिनी। गिलास पनि सफा गर्नैपर्यो। सबै काम एक्लै कसरी भ्याउने भइरहेका बेला उनका छोरा दुर्घटनामा परे।
'छोराको हेरचाहका लागि पनि पसल छोड्नै पर्ने स्थिति आयो,' उनले भनिन्, 'दुःख गरेर जमाएको पसल छाडेँ।'
विस्तारै छोराको स्वास्थ्यमा सुधार हुँदै आयो। त्यसपछि रमा सोच्न थालिन्, अब के गर्ने?
उनको दिमागमा एउटै कुरा खेलिरहन्थ्यो, विदेश जाने कि! तर कुन देश जाने? त्यसका लागि के गर्ने, उनलाई थाहा थिएन। केही समय अन्यौलमै बिताइन्। त्यही बेला छिमेकी दिदीको सुझावले उनको अन्यौल हटाइदियो।
छिमेकी दिदीले सम्झाइन्, 'किन परदेश जान्छौ रमा, नेपालमा राइड सेयरिङ कम्पनीहरू आएका छन्। तिमीसँग लाइसेन्स छ। यहीँ काम पाइन्छ। बरू गएर बुझ।'
यहीँ काम पाइने र एक्लो छोराको साथ छोड्नु नपर्ने भएकाले रमालाई यो सुझाव मनपर्यो। उनी सुकेधाराको सहारा कार्यालय पुगेर सबै प्रक्रिया सेवा-सुविधा बुझिन्। केही दिनमै काम थालिन्।
काम उनलाई सहजै लाग्यो। तर कामकै कारण डेरामा खुबै समस्या झेल्नुपर्यो।
'राइडर बन्न कहाँ सजिलो भयो र? बेलुका ढिला पुग्दा घरबेटीले गेटमा ताल्चा मार्थे। पटकपटक हैरानी भोग्नुपर्यो।'
त्यसपछि उनी डेरा खोज्न थालिन्। आफूले भनेजस्तो कहीँ भएन। काम त गर्नै छ। त्यसपछि उनले एउटा जुक्ति निकालिन्। भक्तपुर, काँडाघारीमा वार्षिक १५ हजार तिर्नेगरी थोरै जग्गा भाडा लिइन्। त्यहीँ जस्ता हालेर टहरा बनाइन् र बस्न थालिन्। टहरावापत् पनि महिनामा एक हजार ३ सय तिर्नुपर्ने उनी बताउँछिन्। तर काम भएपछि यति तिर्न ठूलो समस्या भएन। मुख्य कुरा उनलाई आनन्द भएको छ।
'पहिले राती ढिला पुग्दा घरधनीको गाली धेरै खाएँ। अहिले आनन्द छ, जति बेला पुगे पनि ढुक्क,' लामो संघर्षले आज उनलाई खुसी दिएको छ। हाँस्दै भनिन्, 'पहिले छोराछोरीको साथ अहिले सहाराको। बेसहारा र एकल महिलाको अनुभूति कहिल्यै गर्न परेन।'
आफूलाई सफल एकल महिला भन्ने रमा अरू महिलालाई पनि राइड सेयरिङ काममा जोडिन सुझाउँछिन्। उनी आफैंले दुई महिलालाई यो काममा ल्याइसकिन्।
कुराकानी हुँदै थियो, रमाको मोबाइलमा घन्टी बज्यो। खल्तीबाट मोबाइल झिकिन् र हेर्दै भनिन्, 'ए! पुरानै दिदीले सम्झिनुभएछ। सुन्दरीजल पुग्नुपर्ने भयो। गएँ है!'
रमाले तयारी अवस्थामा राखिएको स्कुटरबाट नीलो हेलमेट झिकेर लगाइन्, अनि हुँइकिन् यात्रुलाई गन्तव्यमा पुर्याउन।
सबै तस्बिरः सविना कार्की/सेतोपाटी
यी पनि पढ्नुहोस्ः