योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न सेवासुविधाका लागि गरिने दाबीको अवधि तोकेको छ। कोषले आगामी पुस १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था लागू गर्ने भएको हो।
जसअनुसार अस्पताल भर्ना नभई उपचार गराएका कोषका योगदानकर्ताले उपचार गराएको ९० दिनभित्र दाबी गरिसक्नुपर्नेछ। त्यस्तै भर्ना भई उपचार गराएकाहरूले डिस्चार्ज भएको ९० दिनभित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ।
दुर्घटनाको हकमा पनि उपचार गराएको अथवा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गर्नुपर्नेछ। मातृत्व हेरचाह भत्ताका लागि पनि ९० दिनभित्रै दाबी गर्नुपर्ने उल्लेख छ। मातृत्व विदा भत्ताका लागि शिशु जन्मिएको १२० दिनभित्र दाबी गर्नुपर्नेछ। त्यस्तै विरामी बिदा भत्ताका लागि पनि १२० दिन तोकिएको छ। अस्थायी असक्षमता वापत भत्ताका लागि काममा फर्किएको ९० दिनभित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ।
एक आर्थिक वर्षको सेवासुविधा सोही आर्थिक वर्षमा प्राप्त गर्नका लागि योगदानकर्ता वा मन्जुरी प्राप्त व्यक्ति कोषमा उपस्थित भएर दाबी गर्दा सोही आवको असार २५ गतेभित्र दावी गर्नुपर्नेछ। आधिकारिक प्रणालीमार्फत् दाबी गर्दा असार २८ भित्र दावी गरिसक्नुपर्नेछ। तोकिएको मितिभन्दा पछि दाबी गर्ने व्यक्तिलाई नयाँ आर्थिक वर्षमा योगदानकर्तालाई प्राप्त हुने नयाँ सुविधा सीमाबाट भुक्तानी गरिने कोषले जनाएको छ।
हाल कोषमा तीन लाख ७३ हजार एक सय ११ योगदानकर्ता सूचीकृत भइसकेका छन्। कोषमा २५ अर्ब ५७ करोड योगदान रकम जम्मा भएको छ। दुई अर्ब ५७ करोडभन्दा बढी रकम विभिन्न शीर्षकमा कोषले योगदानकर्तालाई दाबी भुक्तानी गरिसकेको छ।