सरकारले नेपाल श्रम, आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त प्रतिवदेन सार्वजनिक गरिएको हो।
उक्त प्रतिवेदनअनुसार कामको खोजीमा तीन वर्षमा ११ लाखभन्दा धेरै युवाहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएको देखाएको छ।
प्रतिवेदनअनुसार तीन वर्षमा ११ लाख ६५ हजार १५१ जना वैदेशिक रोजगारमा पुगेका छन्।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ३९ हजार ९४४ जना पुरुष र २८ हजार ४२९ महिला गरी कुल तीन लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा एक लाख ५५ हजार २३३ पुरुष र ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ८० हजार ९६१ पुरूष र ४९ हजार १२८ महिला विदेशिएका छन्।
जसमा नयाँ श्रम स्वीकृति लिएर मात्रै ६ लाख ११ हजार ३३२ जना विदेशिएका छन्।
नयाँ श्रम स्वीकृति लिएर विदेशिनेमा सबैभन्दा धेरै मधेश प्रदेशबाट छन्। प्रतिवेदन अनुसार मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको २८.६८ प्रतिशत छन्।
त्यस्तै प्रदेश १ बाट २०.२४ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत, बागमती प्रदेशबाट १५.४८ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै, गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत, कर्णाली प्रदेशबाट ३.८५ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम सूदुरपश्चिम प्रदेशबाट २.७३ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।
जिल्लागत रूपमा हेर्दा धनुषा, सिराहा, झापा, मोरङ, सुनसरीबाट ठूलो संख्यामा युवाहरू विदेशिने गरेको देखिएको छ।
पछिल्लो ३ वर्षको अवधिमा सबैभन्दा धेरै युवाहरू कतार पुगेको देखिन्छ। ३५.९ प्रतिशत युवा कतार पुगेको तथ्यांकले देखाएको हो।
त्यसपछि दोस्रो गन्तव्य मुलुक मलेसिया बनेको छ। मलेसियामा २२ प्रतिशत युवा पुगेको तथ्यांकले देखाउँछ। त्यस्तै साउदीमा १५.४, संयुक्त अरब इमिरेट्स (युएई)मा ७.५ प्रतिशत र कुवेतमा ६.५ प्रतिशत पुगेका छन्।
जापान, अफगानिस्तान, जोर्डन, माल्टा, टर्की लगायत मुलुकमा पुग्ने नेपालीको संख्या पनि ठूलो छ।
पछिल्लो समय मध्य र पूर्वी युरोपेली क्षेत्रका मुलुकहरू रोमनिया, क्रोएसिया, अल्बेनिया, पोल्याण्ड जस्ता मुलुकहरू नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिएको छ।
त्यस्तै, पश्चिम एशियाली मुलुकहरूमा साइप्रस, टर्की पनि नयाँ गन्तव्यका रुपमा देखा परेको देखिएको छ।
वैदेशिक रोजगारमा जाने पुरूष श्रमिकहरू निर्माण क्षेत्रमा ६.१ प्रतिशत, सवारी चालक तथा मसिन अपरेटर ८ प्रतिशत, औद्योगिक तथा औद्योगिक उत्पादन ८.९ प्रतिशत संलग्न हुने गरेका छन्। अवर्गिकृत काममा ४० प्रतिशत पुरूष संलग्न हुने गरेको देखिएको छ।
नेपालबाट जाने अधिकांश महिला श्रमिकहरू भने सरसफाई काममा संलग्न हुने गरेका छन्। ३९.९ प्रतिशत महिला सरसफाइ कामका लागि पुग्ने गरेका छन्।
त्यस्तै सेवाजन्य पेशाहरूमा २५.६ प्रतिशत संलग्न छन्। जसमध्ये नर्सिङ तथा हेरचाहजन्य सेवामा २.८ प्रतिशत महिलाहरू संलग्न हुने गरेका छन्।
नेपालबाट वैदेशिक रोजगारमा जाने सबैभन्दा ठूलो संख्या अदक्ष श्रमिकहरूको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा पनि सबैभन्दा ५४ प्रतिशतभन्दा धेरै अदक्ष श्रमिकहरू नै विदेशिएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ५७.८ प्रतिशत अदक्ष श्रमिकहरू बाहिरीएका छन्। दक्ष श्रमिकहरू ३२.६ प्रतिशत बाहिरीएको तथ्यांकले देखाउँछ। त्यस्तै अर्धदक्ष ९.५ प्रतिशत बाहिरीएका छन्।
उक्त वर्ष व्यवसायिक श्रमिक ०.०९ प्रतिशत, उच्च दक्षता भएका श्रमिक ०.०१ प्रतिशत विदेशिएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा ५६.२ प्रतिशत अदक्ष श्रमिक बाहिरिएका छन् भने ७.३ अर्धदक्ष छन्। त्यस्तै दक्ष ३६.४, उच्च दक्षता भएका ०.०२ प्रतिशत र व्यवसायिक पेशाका लागि ०.१ प्रतिशत नेपाली युवाहरू विदेशिएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा ५४.२ प्रतिशत अदक्ष श्रमिक बाहिरीएका छन्। अर्धदक्ष ७.४ प्रतिशत अर्धदक्ष युवाहरूले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने दक्ष श्रमिक ३८.३३ प्रतिशत छन्। उक्त वर्ष उच्च दक्षता भएका ०.०१ र व्यवसायिक कामका लागि ०.०६ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।
श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आप्रवासी श्रमिकहरूका सम्बन्धमा स–साना समस्या पनि केलाएर उनीहरूको हक अधिकार सुनिश्चित गर्नका लागि सरकार प्रयासरत रहेको बताए।
हाम्रा युवाहरूले परदेशमा बगाएको पसिनाबाटै देश चलिरहको छ। उनीहरूको पीडामा मलम बन्न सरकार तयार छ,’ उनले भने।
सरकारले वैदेशिक रोजगारमा जानेहरूलाई सीप सिकाएर दक्ष बनाएर पठाउन पहल गरिरहेको पनि मन्त्री कुँवरले बताए। त्यस्तै सरकारले सुरक्षित गन्तव्य मुलुकहरूको खोजी गरिरहेको पनि उनले उल्लेख गरे।
श्रम सचिव एकनारायण अर्यालले नेपालबाट गन्तव्य मुलुकहरूमा पुग्न श्रमिकहरूले दलालको सहायता लिनुपर्ने बाध्यकारी अवस्थालाई सरकारले हटाउँदै लगेको दाबी गरे।
'हामीले प्रविधिमा आधारित अनलाइन प्रणालीमा आधारित सेवा प्रवाह थालेका छौं। यसले गर्दा सेवा पारदर्शी बनेको छ। श्रमिकहरूले झेल्दै आएको सास्ती पनि हटेको छ,' उनले भने।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइएमओ) नेपालकी प्रमुख लोरेना ल्याण्डो नेपालबाट ठूलो संख्यामा अदक्ष श्रमिक विदेशिनु असुरक्षित भएको बताउँछिन्।
'नेपालबाट करिब ६० प्रतिशतको हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका छन्,' उनले भनिन्, 'सीपयुक्त श्रमिक पठाउन सबैले पहल गर्नुपर्छ।'
आइतबार आयोजित कार्यक्रममा विभिन्न श्रम संगठनका प्रतिनिधिहरूले विदेशमा नेपाली श्रमिकहरू असुरक्षित भएका कारण उनीहरूको सुरक्षा तथा हकहितका लागि सरकार तथा सरोकारवाला पक्षले समन्वय गरेर अगाडि बढ्नु पर्ने धारणा राखे।