योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने भएको छ।
कोषले तोकेका अस्पताल भएका स्थानका योगदानकर्तालाई उल्लिखित अस्पतालमा औषधि-उपचार गराउँदाको खर्च मात्रै बेहोर्ने भएको हो। यसअघि योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँदै आएको थियो।
'तोकिएका अस्पताल आसपासका योगदानकर्ताहरूले सम्बन्धित अस्पतामा उपचार गराए मात्रै उपचार खर्च पाउनु हुन्छ। यो व्यवस्था फागुन १ गतेबाट लागू गरिएको छ,' कोषका प्रवक्ता विवेक पन्थीले सेतोपाटीसँग भने।
उनका अनुसार अस्पताल नतोकिएका स्थानका योगदानकर्ताले भने जुनसुकै अस्पतालमा पनि उपचार गराउन सक्छन्। हाल कोषले विभिन्न ३१ वटा अस्पताल तोकेको छ।
कोशी प्रदेश (प्रदेश नम्बर १) का लागि ६ वटा अस्पताल तोकिएका छन्। जसमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिएन्डसी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल प्रालि, पशुपति मोडेल हस्पिटल, हाम्रो अस्पताल, विराटनगर मेडिकल कलेज र नोबेल मेडिकल कलेज छन्।
मधेस प्रदेशका लागि वीरगन्ज, हरिवन, राजविराज लगायत स्थानका अस्पताल तोकिएको छ। मधेस प्रदेशमा नेसनल मेडिकल कलेज, नमूना सामुदायिक अस्पताल, वीरगन्ज हेल्थ केयर, गण्डक अस्पताल, स्पर्स अस्पताल, छिन्नमस्ता अस्पताल छन्।
बागमती प्रदेशका विभिन्न १३ अस्पतालमा योगदानकर्ताले उपचार गराउन सक्छन्। यो प्रदेशमा वीर, त्रिवि शिक्षण, पाटन स्वास्थ्य विज्ञान, हेल्पिङ ह्यान्ड्स, काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, मनमोहन मेमोरियल मेडिकल कलेज, मकवानपुर सहकारी अस्पतालमा उपचार गराउँदाको खर्च कोषले बेहोर्छ। चुरेहिल हस्पिटल, नेपाल अर्थोपेडिक, दृष्टि आइकेयर, शिर मेमोरियल र शंकरापुर अस्पताल पनि तोकिएको छ।
गण्डकी प्रदेशका लागि चरक मेमोरियल र ग्यालेक्सी गरी दुई अस्पताल तोकिएको छ।
लुम्बिनी प्रदेशमा कोहलपुर, नेपालगन्ज, भैरहवा र बुटवलका अस्पताल तोकिएको छ। बाँकेको कोहलपुरस्थित लर्डबुद्ध एजुकेसनल एकेडेमी, नेपालगन्जको लर्डबुद्ध एजुकेसनल एकेडेमी, युनिभर्सल कलेज अफ मेडिकल साइन्स र गौतमबुद्ध मुटु अस्पताल तोकिएको छ।
योगदानकर्ताले सामाजिक सुरक्षा परिचयपत्र देखाए अस्पतालमा उपचार गराउँदाको खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई तिरिदिने प्रावधान छ। कोषमा कम्तीमा ३ महिना नियमित योगदान गरेपछि औषधि-उपचार सुविधा पाइन्छ। यस अन्तर्गत वार्षिक एक लाख रूपैयाँ सम्मको औषधि-उपचार सुविधा दिइन्छ।
कम्तीमा तीन महिना नियमित योगदान गरेका योगदानकर्ता र निजको दम्पतीलाई ओपिडी (अस्पताल भर्ना नभई) सेवाको वार्षिक २० हजारसम्मको शोधभर्ना कोषले गर्छ। त्यस्तै योगदानकर्ता र निजको दम्पतीलाई आइपिडी सेवा (अस्पतालमा भर्ना भएर उपचार गराउँदा) वार्षिक ८० हजार रूपैयाँसम्मको शोधभर्ना कोषले उपलब्ध गराउँछ।
दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रूपैयाँसम्म कोषले उपलब्ध गराउँछ।
कोषले विभिन्न योजनाहरूको दाबी भुक्तानीका लागि समय सीमा तोकेको छ।
अस्पताल भर्ना नभई गरिने (ओपिडी) उपचार गराएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ।
त्यस्तै भर्ना भई उपचार गराएकाहरूले डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ।
दुर्घटनाको हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने कोषले जनाएको छ।
मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ। मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिन भित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ।
सरकारले २०७५ मंसिर ११ गतेदखि सुरू गरेको सामाजिक सुरक्षा कोषमा हाल निजी क्षेत्रका तीन लाख ९६ हजार ९६५ श्रमिक सूचीकृत छन्। पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई मात्रै कोषमा समेटिएकोमा अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारमा जाने श्रमिकलाई पनि आबद्ध गराउन कार्यविधि बनिसकेको छ।
कोषमा कुल योगदान रकम ३० अर्ब ३७ करोड बढी रकम जम्मा भएको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ६१ करोडभन्दा बढी रकम दाबी भुक्तानी गरिसकेको जनाएको छ।
कोषबाट पाइने सुविधा के के छन्?
औषधि उपचार तथा मातृत्व सुरक्षा योजना
औषधि–उपचार सुविधा अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्ताले वार्षिक रूपमा एक लाख रूपैयाँ नबढ्ने गरी खर्च पाउँछन्। अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रूपमा २५ हजार रूपैयाँ प्राप्त गर्छन्।
मातृत्व सुरक्षा अन्तर्गत पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च कोषले उपलब्ध गराउँछ। त्यस्तै अस्पताल भर्ना भई प्रसूति शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च कोषले बेहोर्छ। सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशु उपचारवापतको खर्च पनि कोषले बेहोर्छ।
योगदानकर्ता महिला भएको खण्डमा प्रसूति बिदावापत ६० दिनभन्दा माथिको थप ३८ दिनसम्मको भुक्तानी (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) पाइन्छ।
प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबर रकम उपलब्ध गराइन्छ। यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा पनि पाइन्छ। तर यो सुविधा पाउन कोषमा कम्तिमा लगातार ३ महिना योगदान गरेको हुनुपर्छ। योगदान गर्न छाडेको ३ महिना अवधिसम्म पनि सुविधा दाबी गर्न सकिन्छ।
कस्तो अवस्थामा यो सुविधा पाइँदैन?
- दुर्घटना भई उपचार गराएको बाहेक दाँतको उपचार गराउनु परे।
- प्लास्टिक सर्जरी तथा अन्य कस्मेटिक प्रकारका उपचार खर्च।
- बारियाट्रिक (बोसो निकाल्ने) वापतको उपचार खर्च।
- स्वेच्छाले गर्भपतन गराउँदा।
- अन्य योजनाबाट दोहोरो भुक्तानी हुने गरी दाबी गरे।
दुर्घटना तथा अशक्तता सुरक्षा योजना
कोषले अघि सारेको यो योजना अन्तर्गत रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च पाइन्छ। अन्य दुर्घटनाको हकमा सात लाख रूपैयाँसम्म खर्च पाइन्छ। दुर्घटनावापत सुविधा योगदान सुरू गरेकै दिनदेखि पाइन्छ। र योगदान छाडेकै मितिबाट यो सुविधा पाइँदैन।
व्यवसायजन्य रोगवापत सुविधा पाउन कोषमा दुई वर्ष योगदान गरेको हुनुपर्छ। यस्तो रोग लागेको अवस्थामा योगदान गर्न छाडेको दुई वर्षपछिसम्म कोषमा दाबी गर्न सकिन्छ। व्यवसायजन्य रोगको पहिचान सम्बन्धित विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य पुनरावलोकन विशेष समितिले गरेअनुसार हुने कोषले बताएको छ।
रोजगारीजन्य दुर्घटना भएको सात दिनभित्र कोषलाई खबर गर्नुपर्नेछ। अन्यथा सात लाख रूपैयाँसम्मको मात्रै खर्च पाइने कोषले बताएको छ।
कस्तो अवस्थामा के सुविधा?
रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी पूर्ण अशक्त भएको अवस्थामा श्रमिक काममा नफर्किँदासम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बिदा अवधिको भुक्तानी पाइन्छ।
अस्थायी (आंशिक) अशक्तता भएको अवस्थामा अशक्तताको प्रतिशतको आधारमा उपचार खर्च पाइन्छ।
पूर्ण अशक्तता भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन अशक्ततावृत्ति पाइन्छ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत के–के सुविधा पाइन्छ?
- पति वा पत्नीले पाउने निवृत्तिभरण
- सन्ततिले पाउने शैक्षिक वृत्ति
- आश्रित आमाबुबाले पाउने सुविधा (पति, पत्नी वा छोराछोरी नभएमा) अन्तिम संस्कार खर्च।
- यो सुविधा योगदान सुरू गरेकै मितिबाट लागू हुन्छ।
वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम तथा त्यसले आर्जन गरेको प्रतिफल एकमुष्ट फिर्ता पाइन्छ। पति वा पत्नी वा आमाबुबाले योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन आश्रित पेन्सन पाउँछन्। छोराछोरीले १८ वर्ष उमेरसम्म (पढाइ निरन्तर भएमा २१ वर्षसम्म ४० प्रतिशत शैक्षिकवृत्ति पाउँछन्।
अन्तिम संस्कारका लागि २५ हजार खर्च पाइन्छ।
शर्त के–के छन्?
आश्रितले दोस्रो बिहे गरेमा वा वैकल्पिक रोजगार भएमा यो सुविधा पाइँदैन। तर आश्रितको रोजगारी समाप्त भई वृद्ध अवस्था पेन्सन पाउने उमेरमा पेन्सन प्राप्त गर्ने अवस्था नरहेमा निवेदन दिई यो सुविधा पाइन्छ।
एक बच्चा भएमा आधारभूत पारिश्रमिकको ४० प्रतिशत र एकभन्दा बढी बच्चा भएमा दुई सन्तानलाई त्यसको दामासाही रूपमा मात्रै पाइन्छ। पढाइ निरन्तर रहेको अवस्थामा २१ वर्ष अन्यथा १८ वर्षसम्म मात्रै सन्ततिवृत्ती पाइन्छ।
वृद्ध अवस्था सुरक्षा योजना
यसअन्तर्गत निवृत्तिभरण योजना र अवकाश सुविधा योजना छन्। २०७८ साउन १ गते वा सोभन्दापछि कोषमा योगदान सुरू गर्ने सबै योगदानकर्ता निवृत्तिभरण योजनामा समावेश हुन्छन्। २०७८ असार मसान्तसम्म कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा लिखित रूपमा निवेदन दिई निवृत्तिभरण योजनामा सहभागी हुन सक्छन्।
योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकम कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना योगदानकर्ताको जीवनकालभर निवृत्तिभरण पाइन्छ।
कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उसको हकवालालाई कोषमा जम्मा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट प्रदान गरिन्छ।
निवृत्तिभरण पाउन योग्य हुने अवस्था
निवृत्तिभरण पाउन योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्छ। योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै ६० वर्ष उमेर पूरा भएको हकमा यो योजनामा जम्मा भएको रकम वा सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट बनाई सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना उसको जीवनकालभर निवृत्तिभरण लिनेमध्ये कुनै एउटा विकल्पको छनोट गर्न सकिन्छ।
अवकाश सुविधा योजना
कोषमा जम्मा भएको रकम र त्यसमा प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम योगदानकर्ता अवकाश हुँदा वा उसको रोजगारीको अन्त्य भएको अवस्थामा पाइन्छ। योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको हकवालाले एकमुष्ट भुक्तानी पाउने व्यवस्था छ।
कोषमा जम्मा भएको रकमबाट तीन वर्ष लगातार योगदान गर्ने योगदानकर्ताले अवकाश सुविधा रकममा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सकिने व्यवस्था छ।
कोषमा श्रमिकको आधारभूत पारिश्रमिकबाट कट्टी गरिएको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
यो रकमको १ प्रतिशत औषधि-उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत कट्टी हुन्छ। १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजनामा कट्टी हुनेछ। त्यस्तै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण योजनामा २० र अवकाश योजनाामा ८.३३ गरी कुल २८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ।