केही समयअघि बबरमहल १३२ (परिवर्तित नाम) को भेट रवि थापा मगर भनिने लालबहादुर मगरसँग भयो। लालबहादुर र अरू केही व्यक्तिले उनलाई विदेशमा राम्रो जागिर लाइदिने भने।
कुवेतको रोयल रेस्टुरेन्टमा वेट्रेसको काम गर्ने, खानेबस्ने व्यवस्था रेस्टुरेन्टले नै गरिदिने र महिनाको १२० कुवेती दिनार (केडी) तलब पाउने सुनेपछि बबरमहल १३२ दंग परिन्।
'मेहनत र राम्रो काम गर्नेलाई टिप्स पनि दिने भनेका थिए। त्यहाँबाट अरू आकर्षक गन्तव्यहरू युरोप तथा अमेरिका पनि जान सकिने भने,' बबरमहल १३२ ले प्रहरीलाई दिएको बयानमा भनेकी छन्।
लालबहादुरसहित उनले अन्य व्यक्तिलाई प्रतिवादी बनाई प्रहरीमा जाहेरी दिएकी छन्।
उनका अनुसार काम र कमाइको लोभ देखाएर डम्बरबहादुर दर्लामीले कुवेतसम्म जाने भिसा तयार गरिदिए।
गत मंसिर २६ गते बबरमहल १३२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडिन्।
तर कुवेतमा उनलाई रेस्टुरेन्टमा काम गर्न नभई एउटा घरमा पठाइयो। उनलाई बिक्री गरिएको खुलेको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोको टोलीसहित नेपाली दूतावास कुवेतको सहयोगमा उनको उद्धार गरिएको हो।
पीडितको जाहेरीका आधारमा ब्युरो टोलीले बेचविखनमा संलग्नमध्येका सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिकाका चिरन्जी गिरीलाई पक्राउ गरेको छ।
सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एन्ड टुरका सञ्चालक गिरीले अन्य प्रतिवादीहरूसँग मिलेर मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। गिरीले विभिन्न व्यक्तिहरूको भिसा, टिकट लगायत त्रिभुवन विमानस्थलसम्मको बन्दोवस्त गरी विदेश पठाउने काम गरेको खुलेपछि उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
त्यस्तै अर्की पीडित, बबरमहल १३३ (परिवर्तित नाम) लाई पनि प्रतिवादीहरू गणेश लिम्बू र लिना श्रेष्ठले फ्री भिसा, फ्री टिकटमा युनाइटेड अरब इमिरेट्स (युएई) मा क्लिनरको काममा पठाउनले आश्वासन दिएका थिए। तर उनलाई युएई नभएर ओमान पुर्याइयो।
गत माघ ३ गते अरू केही व्यक्तिसहित बबरमहल १३३ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमानको मस्कट पुर्याइयो। त्यहीँका नागरिकको घरमा उनलाई घरायसी काममा लगाइएको पाइएको छ। बबरमहल १३३ लाई बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो। उनले नेपालमा आफन्तलाई खबर गरेपछि प्रतिवादीहरूले उल्टै दुई लाख ५० हजार रूपैयाँ माग गरेको पाइएको ब्युरोले जनाएको छ।
उनका आफन्तले उक्त रकम विभिन्न व्यक्तिका नाममा जम्मा गरिदिएपछि गत माघ २४ गते उनी नेपाल फर्किसकेकी छन्।
ब्युरोमा मुद्दा परेपछि घटनामा संलग्न प्रतिवादी गणेश लिम्बू भन्ने गणेशबहादुर लावतीलाई फागुन ११ गते ब्युरो टोलीले पक्राउ गरेको छ। यसमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
पछिल्लो समय नेपालबाट घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाइएका खाडी तथा मलेसियामा घरेलु तथा विभिन्न कामको प्रलोभन देखाइ मानव बेचविखन तथा ओसारपसारका घटना बढिरहेको पाइएको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार कुवेत, ओमान, युएई जस्ता खाडी मुलुकमा ओसारपसार तथा बेचविखनका घटना बढिरहेको हो।
'खाडी र मलेसिया जस्ता मुलुकमा श्रम स्वीकृति लिएर घरेलु श्रमिकका रूपमा जान पाइँदैन। जसले गर्दा ती देशमा राम्रो रोजगारी पाइने प्रलोभनमा युवाहरू मानव तस्करको पन्जामा पर्ने जोखिम बढेको छ,' उनले भने।
मानव बेचविखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० माघसम्म ब्युरोमा बेचविखन तथा ओसारपसारका ७५५ उजुरी परेका छन्। यो समयमा बेचविखन तथा मानव तस्करीमा परेका एक हजार एक सय तीन महिला तथा पुरूष उद्धार गरेको जनाएको छ। जसमा पुरूषको संख्या एक सय ११ र महिलाको संख्या नौ सय ९२ छ।
चालु आर्थिक वर्ष २०७८/०८० माघसम्म मात्रै मानव बेचविखन तथा ओसारपसारका १०३ उजुरी परेका छन्। जसमा ८१ महिला र ११ पुरुष पीडितहरू छन्। ब्युरोको पहलमा २०७९ माघमा मात्र महिला तथा बालबालिका गरी जम्मा ३० जनालाई विभिन्न मुलुकबाट उद्धार गरिएको छ।
उनीहरूमध्ये भारतबाट १५ जना महिला र चार जना बालबालिका, कुवेतबाट छ जना महिला, ओमानबाट दुई जना महिला, इराकबाट एक जना महिला र नेपालभित्रै आन्तरिक बेचविखनमा परेका दुई जना महिलालाई उद्धार गरिएको हो।
आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरूपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीहरूले ओसारपसार तथा बेचविखन गर्ने गरेको ब्युरोका प्रहरी उपरीक्षक पंगेनीको भनाइ छ।
माघमा नक्कली कागजात बनाइ वैदेशिक रोजगारीमा जान लागेका २५० जना महिला तथा पुरूषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्युरोको टोलीले फिर्ता गरेको थियो। भिजिट भिसामा विदेश जान चाहिने आवश्यक कागजातको न्यूनतम प्रक्रिया समेत पूरा नगरेका मानव बेचविखन तथा ओसारपसारको उच्च जोखिममा पर्ने देखिएकालाई ब्युरो टोलीले विमानस्थलले फिर्ता गराएको हो।
पछिल्लो समय भिजिट भिसाका नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको र यसरी जानेहरू समस्यामा परेका कारण सरकारले कडाइ गरेको छ। विदेशमा आफन्तहरू नभएका, बैंक ब्यालेन्स पनि नभएका तथा अंग्रेजी वा गन्तव्य मुलुकको भाषासमेत नजानेका व्यक्तिहरूलाई विमानस्थलबाटै फर्काइएको उपरीक्षक पंगेनीले बताए।
सरकारले कुनै सरकारी, व्यावसायिक तथा बिरामी कुरूवा जस्ता विभिन्न कामका सिलसिलामा जाने व्यक्तिबाहेकलाई कम्तीमा दस लाख रूपैयाँ आय र पाँच लाख बैंक रकम देखाउनु पर्ने व्यवस्था गरेको छ। यसरी कडाइ गरिँदा पनि भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन।
छिमेकी मुलुक भारत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत विभिन्न आवरणमा ओसारपसार तथा तस्करी भइरहेको ब्युरोले जनाएको छ। मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि विभिन्न जिल्लामा ब्युरोले सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि बेचविखन नियन्त्रमा चुनौती देखिएको उपरीक्षक पंगेनीको तर्क छ।
'सरकारले मलेसिया तथा खाडी मुलुकहरूमा घरेलु कामदारका रूपमा नयाँ श्रम स्वीकृति दिन प्रतिबन्ध लगाउँदा पनि त्यहाँ जाने क्रम रोकिएको छैन। सबै निकायले यसमा अध्ययन गरी पुनर्विचार गर्नपर्ने हो कि भन्ने अवस्था देखिएको छ,' उनले सेतोपाटीसँग भने।
नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डन लगायत हुन्। घरेलु श्रमिकका रूपमा पुरूषभन्दा धेरै महिला जाने गर्छन्। तर २०७२ सालदेखि नेपालले जोर्डन तथा इजरायलमा मात्रै घरेलु कामदार पठाउँदै आएको छ। त्यस बेला संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठोस कानुन नबन्दासम्म मलेसिया तथा खाडीमा घरेलु कामदारका रूपमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो।
फेरि २०७७ असोजको दोस्रो साता संसदीय समितिले निर्देशन सच्यायो। विभिन्न शर्त पूरा भएका मुलुकमा घरेलु कामदार खुला गर्न सकिने निर्देशन समितिले दिएको छ। जसमा नेपालबाट घरेलु कामदार लैजान इच्छुक मुलुकमा कामदारको सेवा, शर्त, सुविधा सम्बन्धी छुट्टै कानुनी व्यवस्था हुनुपर्ने उल्लेख छ। त्यस्तै श्रम सम्झैता पनि गरिनुपर्नेछ। सम्झौतामा पारिश्रमिक, बिदा, स्वास्थ्य उपचार, बीमा जस्ता अतिरिक्त सुविधा सुनिश्चित हुनुपर्ने छ।
घरेलु काममा जाने सीपयुक्त हुनुपर्ने, सम्बन्धित गन्तव्य मुलुकको भाषा जानेको हुनुपर्ने लगायत शर्त समितिको छ। समितिको निर्देशनपछि पनि सरकारले घरेलु काममा नयाँ श्रम स्वीकृति खुला गरेको छैन। हाल गन्तव्य मुलुकमा घरेलु कामदारका रूपमा कार्यरत श्रमिकहरू नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिई जान पाउने व्यवस्था भने गरिएको छ।
श्रम मन्त्रालयका अधिकारीहरू पनि पछिल्लो समय घरेलु श्रमिकका रूपमा खाडी र मलेसिया पठाउन बन्देज लगाउन नहुने पक्षमा पुगेका छन्।
'घरेलु काममा श्रमिक पठाउनुपर्छ भन्दा विवाद हुन्छ। यो काममा पठाउनै नहुने भन्ने होइन। तर हाम्रा श्रमिकहरूलाई सुरक्षाको ग्यारेन्टी गन्तव्य मुलुकमा हुनुपर्यो भन्ने हो,' मन्त्रालयका एक अधिकारीले भने।
घरेलु श्रमिक पठाउन सरकारले गृहकार्य गरिरहेको पनि उनले बताए।