बेलारूसमा अलपत्र ९ जना नेपाली महिलालाई शुक्रबार स्वदेश फर्काइएको छ।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएकी हुन्।
उनका अनुसार ती महिलाहरूलाई ललाइफकाई बेलारूस पुर्यायार अलपत्र पारिएको थियो।पीडित महिलालाई विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताइन्।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ महिलालाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्। साथै विदेशमा पुर्याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन पनि उनले दिइन्।
'तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला। तपाईंहरूलाई हामी न्याय दिलाउने छौं, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौं,' उनले भनिन्।
अलपत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडितले बेलारूसमा आफूहरूले दैनिक १२ घन्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो पोखिन्। उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारूसमा गएपछि बेलारूसी रूबेल ७५ दैनिक दिने गरेको जानकारी दिइन्।