वैदेशिक रोजगार व्यवसायी संघले कतारमा रहेका नेपालीहरुको अवस्था बुझ्न सरकारसँग आग्रह गरेका छन्। संघले आज उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर ६ राष्ट्रले कतारमाथि कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि त्यहाँ रहेका कामदारको अवस्था बुझ्न ध्यानाकर्षण गराएको हो।
'हामीले परराष्ट्रमन्त्रीलाई भेटेर कतारमा रहेका कामदारको अवस्था कुटनीतिक तवरबाट बुझ्न आग्रह गरेका छौं,' संघका महासचिव रोहन गुरुङले भने, 'त्यस लगायतका वैदेशिक क्षेत्रमा देखिएको समस्याबारे पनि उहाँलाई अवगत गरायौं। '
जवाफमा परराष्ट्रमन्त्री महराले कतारमाथि ६ राष्ट्रले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि त्यहाँ रहेका कामदारको बारेमा यथासिध्र जानकारी लिइने बताए।
कतारमा रहेका नेपाली कामदार आत्तिहाल्नु पर्दैन
यही जेठ २१ गते साउदी अरव, इजिष्ट, बहराइन, युएइ, लिविया र यमनले कतारमाथि कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए। तर त्यहाँ रहेका नेपाली कामदारलाई तत्काल केही असर नपर्ने र १ महिनापछि केही समस्या देखापर्न सक्ने विज्ञहरुले बताएका छन्।
व्यवसायीको भेटमा मन्त्री महराले वैदेशिक रोजगारमा देखिएको समस्या समाधान गर्न एक समिति गठन गरेको पनि जानकारी दिए।
'समितिले वैदेशिक रोजगारमा देखिएको सबै समस्या पहिचान गरेर हल गर्न सुझाव पनि दिन्छ, 'मन्त्री महराले व्यवसायीसँग भने । व्यवसायीहरुले भने सो समितिमा संघका अध्यक्षलाई सदस्य बनाउन माग गरेका छन्।