सरकारले देशका विभिन्न भागमा गरगहना पसलहरुमा छापा मारी धरपकड गरेकोप्रति सुनचाँदी व्यवसायी महासंघले विरोध जनाएको छ।
अनुगमन र अनुसन्धानका नाममा व्यवसायीलाई आतंक फैलाउने काम गरिएको भन्दै महासंघले व्यवसाय गर्ने वातावरणमा अवरोध गरिएको आरोप लगाएको छ। व्यवसायीका पसलहरुबाट गरगहना समेत उठाएर लैजाने गरिएको भन्दै यस्ता क्रियाकलाप तुरुन्त रोक्न महासंघले माग गरेको छ।
देशका विभिन्न भागमा अनुसन्धानका लागि भन्दै सरकारले ठूला गरगहना पसलहरुमा छापा मार्दै आएको छ। अनुसन्धानका लागि महासंघले सहयोग गर्ने जनाउँदै शैलीमा सुधार ल्याउन भनेको छ। एक विज्ञप्ति जारी गर्दै उसले यस्तै शैली कायम रहे व्यवसाय गर्न नसकिने जनाएको छ।
महासंघका अनुसार देशभर २२ हजार सुनचाँदी व्यवसायी छन् भने करिब २ लाख कामदार तथा कालिगढको संलग्नता छ। वार्षिक करिब ५० अर्बको कारोबार हुने गरेको र १३ अर्ब रुपैयाँ सरकारले राजश्व बुझ्दै आएको महासंघले जनाएको छ।