मौद्रिक नीतिले सुनको आयातमा सहजता प्रदान गरेको छ। व्यवसायीका लागि वाणिज्य बैंकहरुले अब एक महिनासम्मको सुन एकै पटक एकमुष्ठ रुपमा आयात गर्न पाउने भएका छन्। यसबाट ढुवानी लागतमा समेत कमी आउने छ।
अधिकतम दैनिक २० केजीका दरले आयात गर्नुपर्ने यसअघिको व्यवस्थालाई सहजता गर्दै राष्ट्र बैंकले अब सोही अधिकतम सीमाभित्र रही एक महिनासम्मको हिसाव गरी एकै पटक आयात गर्न पाउने व्यवस्था गरेको छ।
यसले सुनको माग र आपूर्तिलाई सही रुपमा सम्वोधन हुने राष्ट्र बैंकको विश्वास छ। सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले राष्ट्र बैंकले ल्याएको नीति राम्रो रहे पनि कार्यान्वयन हुनेमा भने शंका रहेको बताए।
बैंकहरुले सुन दिँदा नाफा अनुकुलको समय मात्रै खोज्ने गरेको शाक्यले आरोप लगाए। ‘सही रुपमा कार्यान्वयन भयो भने माग बढ्ने सिजनमा यसले सुनचाँदीको अभाव हुन दिँदैन’ उनले भने ‘यसअघि पनि बैंकहरुले राष्ट्र बैंकका निर्देशनहरु पालना नगरेकाले शंका उत्पन्न गर्ने ठाउँ छ।’
बैंकहरुले व्यवसायीहरुलाई मात्रै सुन बेच्न पाउने भए पनि फाइदाका लागि अन्य बाहिरी व्यक्ति वा संस्थालाई पनि दिने गरेको उनले आरोप लगाए।
यसअघि अधिकतम २० केजीका दरले दैनिक सुन आयात गर्न सक्ने व्यवस्था हुँदा माग उच्च हुँदा सुन नहुने र माग कम हुँदा बैंकहरुमै सुन थन्किने समस्या रहँदै आएको थियो।
विशेषगरी तीज, तिहार, दसैँ, बिहेका लगन भएका महिनामा सुनको माग उच्च हुने गरेको शाक्यले बताए। ‘यस्तो माग हुने बेला सुन नहुने समस्या अब समाधान होला भन्ने हाम्रो विश्वास छ’ उनले भने।
बैंकहरुले अब यस्ता पर्व तथा उत्सवहरुका लागि मध्यनजर गर्दै पहिले नै एक महिनासम्मको सुन एकमुष्ठ ल्याउन सक्नेछन्। त्यसले बजारको माग र आपूर्तिलाई सन्तुलित गर्ने व्यवसायीहरुको अपेक्षा छ।
त्यस्तै सुनचाँदी व्यवसायीहरुले विदेशी, गैरआवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई डलरमा सुनका गरगहना बिक्री गर्न पाउने छन्। हालको मौद्रिक नीतिले यो व्यवस्था गरेको हो।
यस्तो बिक्रीलाई ‘डिमेड एक्स्पोर्ट’ सरह निर्यात भएको मानिने राष्ट्र बैंकले जनाएको छ। तर त्यसरी बिक्री गर्दा राष्ट्र बैंकबाट इजाजत भने लिनुपर्नेछ।
इजाजत लिने प्रक्रिया नै झन्झिटिलो भएको र त्यसमा धेरै समय लाग्ने भएकाले सहजता प्रदान गरिनुपर्ने व्यवसायीको माग छ।
‘विदेशीको बसाई निश्चित ठाउँमा निश्चित घण्टाका लागि हुन्छ, तर हामीले इजाजत लिने प्रक्रियामै धेरै समय लाग्छ’ शाक्यले भने ‘उनीहरुले सुन किन्ने होइन, कलात्मक गरगहना किन्ने हो।’
नेपालमा सुनचाँदीको तुलनात्मक रुपमा अन्य देशकोभन्दा उच्च हुने भएकाले यहाँबाट कुनै पनि पर्यटकले धेरै मूल्यको गरगहना नलैजाने उनले बताए। ‘यहाँको कला उनीहरुले चाहने हो, सुन होइन त्यसकारण इजाजतको प्रक्रिया केही मिनेटमै सकिनेखालको हुनुपर्छ’ उनले भने ‘नत्र यो सहजताको अर्थ रहँदैन।’