माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । सङ्घले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ। सङ्घका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन गर्नुपरेको उल्लेख छ।
सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । चाडपर्वको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु परेको सङ्घले जनाएको छ। “पर्याप्त मात्रामा सुन नआएकाले ग्राहकलाई उपलब्ध गराउन सक्ने अवस्था छैन,” विज्ञप्तिमा भनिएको छ।
जिल्लामा करीब पाँच सय सुनचाँदी पसलमा सातामा पाँच किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत दुई किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन्।