वाणिज्य बैंकहरुले अब दैनिक २५ केजीसम्म सुन ल्याउन पाउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको छ।
राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरुले दैनिक २५ केजीका दरले सुन ल्याउन सक्नेछन्। मन्त्रालयका सहसचिव रविशंकर सैंजुले मंसिर मसान्तसम्म दैनिक २५ केजीका दरले सुन ल्याउन स्वीकृति दिइएको जानकारी दिए। राष्ट्र बैंकले भने चाडपर्वका बेला दैनिक ३० केजीसम्म सुनको आयात गर्न प्रस्ताव गरेको थियो।
‘डलरको मूल्य बढेर व्यापार घाटा चुलिने अवस्थामा रहेकाले २५ केजीभन्दा बढी आयात गर्न दिन सकिँदैन’ सैंजुले सेतोपाटीसँग भने।
चाडपर्वका बेला बीचबीचमा २५ केजीसम्म आयात गर्न दिइएकोमा अब असोजदेखि मंसिरसम्मको अवधि कायम गरेर सहजता दिलाइएको मन्त्रालयले जनाएको छ।
अन्य नियमित समयमा भने दैनिक २० केजीसम्मको कोटा यथावत रहनेछ। त्यस्तै विवाहको बेला पनि दैनिक २५ केजीका दरले सुन आयात गर्न पाउने व्यवस्था छ। माघ/फागुन तथा वैशाखको अवधिलाई विहेको सिजन भनेर तोकिएको छ।
‘अब मन्त्रालयको स्वीकृतबमोजिम नै हामीले वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरी त्यसै दिनबाट कार्यान्वयनमा ल्याउँछौँ’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने।
सुनको अभाव भएको भन्दै व्यवसायीहरुले दैनिक ३५ केजी कोटा कायम गर्नुपर्ने माग गर्दै आएका छन्। ‘दैनिक ३५ केजी कोटा नभएसम्म हामीले माग पुरा गर्न सक्दैनौँ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ‘सुनको कोटा थपिँदा सरकारलाई राजश्व पनि बढ्न जान्छ।’
माग बढेका बेला दैनिक २० केजीका हिसाबले एक महिनासम्मको परिमाण एकमुष्ठ आयात गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। माग र आपूर्तिको सही सम्वोधन गर्न राष्ट्र बैंकले यो व्यवस्था गरे पनि सहज नभएको व्यवसायी बताउँछन्। बैंकहरुले नाफाअनुकूल समय खोज्दा सिजनमा भनेजति सुन नपाएको व्यवसायीको आरोप छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ। बर्सेनी सुन आयात बढ्दै गएको पनि तथ्याङ्कले देखाउँछ। अघिल्लो आवमा २७ अर्ब ४३ करोड रुपैयाँको सुन भित्रिएको थियो।
नियमित समयमा दैनिक ३५ केजी सुनको माग रहेको शाक्यले बताए। अवैधानिक बाटोबाट आउने र विदेसिनेहरुले कोटाअनुसार ल्याउने गरेको सुनबाट समेत केही माग धानिने गरेको छ।