सुनको मूल्य प्रतितोला साढे ६२ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सो मूल्य निर्धारण गरेको हो।
यो मूल्य साढे ६ वर्षयताकै महँगो हो। सुनको मूल्य २०६९ भदौमा प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर परेको महासंघले दावी गर्दै आएको छ।
नेपालमा सुनको मूल्यले साढे ६ वर्षयताकै उच्चतम मूल्य कायम गरे पनि अन्तर्राष्ट्रिय बजारमा भने १ वर्षको रेकर्ड पनि तोडिएको छैन। गत फेब्रुअरी १४ अर्थात फागुन ३ गते अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३५५ डलर रहेको थियो। आज १३१३ डलरको हाराहारीमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा एक वर्षको मूल्य ट्रेन्ड
नेपालमा साढे ६ वर्षयताकै उच्चतम मूल्य पुग्नुमा प्रमुख कारण नेपाली मुद्रा अवमूल्यन हुनु रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा अझै केही दिन सुन महँगिए नेपालमा ऐतिहासिक रेकर्ड तोडिने छ।
नेपाली बजारमा एक वर्षको मूल्य ट्रेन्ड
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १३५५ डलरमा सुनको कारोबार भएको दिन नेपालमा प्रतितोला ५७ हजार ९ सय रुपैयाँ थियो। जुन दिन डलरको मूल्य १०३ रुपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३१३ डलर हुँदा यहाँ तोलाको ६२ हजार ५ सय रुपैयाँ पुगेको छ। आज डलरको मूल्य ११४ रुपैयाँ पुगेको छ।
नेपाली मुद्रा डलरसँग अवमूल्यन हुँदा अन्तर्राष्ट्रिय बजारसँग नेपालको ट्रेन्ड नमिलेको सम्बद्ध व्यवसायीहरु बताउँछन्। ‘नेपाली मुद्रा डलरसँग अवमूल्यन हुँदा त्यसको असर सुनको मूल्यमा पर्ने गरेको छ’ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भने ‘त्यही कारण नेपालमा सुनको मूल्य उच्च दरले बढेको हो।’
अमेरिकासँग अन्य देशहरुको द्वन्द देखिँदा अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको उनले बताए। यतिबेला विश्का लगानीकर्ता सुनमा आकर्षित भएको उनको भनाई छ।