आज सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँ कायम भएको छ।यो मूल्य ६ वर्ष यताकै महँगो भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
२०७० साल भदौ १२ गते यही मूल्यमा सुनको कारोबार भएको थियो। त्यसयता ६० हजार मुनी कारोबार भइरहेको सुन एक महिना यता देखि ६२ हजार हाराहारी मूल्यमा कारोबार भइरहेको महासंघको तथ्यांकमा उल्लेख छ।
हिजो प्रतितोला ६२ हजार ७ सय रुपैयाँ कायम भएको सुन आज ६ सय रुपैयाँ बढेको हो। चीन र अमेरिकाबीच चलिरहेको ब्यापारिक युद्धका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन।
उनका अनुसार अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाइदिएका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी खिचातानीले सुनको मूल्यमा असर देखिएको हो।
यो बिबाद नसुल्झिए सम्म सुनको मूल्य अझै बढ्न सक्ने समेत साक्यको भनाइ छ।