दाङको एक मसला उद्योगले १५ लाई रोजगार प्रदान गरेको छ।\
तुलसीपुर उपमहानगरपालिका– ६ गाईडहरमा रहेको केसी मसला उद्योगले १५ जनालाई रोजगार दिन सफल भएको हो ।
उद्योग सञ्चालक ध्रुव केसीका अनुसार मसला प्याक गर्न ११, सवारी चालक दुई र बिक्री वितरणका लागि दुई जनालाई रोजगार दिइएको छ।
गतवर्ष ३० लाखको लागतमा सञ्चालित उक्त उद्योलले अहिले मासिक करीब २० लाख रुपैयाँको मसला बिक्री गर्ने गरेको उनले बताए। मासिक सबै खर्च कटाएर डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेकोसमेत उनले बताए।
स्थानीय स्रोत, साधनलाई प्रोत्साहन गर्नुका साथै रोजगार सिर्जना गर्न उद्योग सञ्चालन गरिरहेको भन्दै उहाँले अहिले धनञ्जय नाम दिएर विभिन्न तरकारी मसला बजारमा ल्याउने गरेको जानकारी दिए। उहाँका अनुसार मासु मसला, मिक्स मसला, खुर्सानी, जिरा, धनियाँलगायतका मसला उत्पादन गरेर बिक्री वितरण गरिन्छ ।
अहिले उद्योगबाट उत्पादित मसला दाङका विभिन्न बजारसहित रुकुम, सल्यान, रोल्पा, प्युठान, बाँके, जाजरकोटलगायतका जिल्लामा जाने गरेको उनले बताए।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले यस्ता उद्योगको वृद्धि हुँदा यहाँ रोजगारीको सिर्जना हुने भएकाले स्थानीय सरकारले पनि यस्ता उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।