सुन तथा चाँदीको आयात गर्ने स्वीकृति बैङ्क तथा वित्तीय संस्थालाई मात्र दिइएको छ। ठूला करदाता कार्यालयअन्तर्गतका ५ करदाताहरुले भने बैंकिङ माध्यम बाहिरबाट अर्थात व्यक्ति तथा बाह्य संस्थाहरुबाट ठूलो परिमाणमा सुन खरिद गरेको भेटिएको छ।
ति पाँच करदाताले कुल खरिद रकममध्ये करिब ९१ प्रतिशत सुन व्यक्ति तथा बाह्य संस्थाहरुबाट खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
एक ज्वेलरी इण्डष्ट्रिज, एक ज्वेलर्सका तीन करदाता र एक गोल्ड प्यालेसले ६ आर्थिक वर्षमा व्यक्ति तथा वाह्य संस्थाहरुबाट ठूलो परिमाणमा सुन खरिद गरेको महालेखाले औंल्याएको छ।
ति करदाताले ६ आर्थिक वर्षमा ५ अर्ब १७ करोड ३० लाखको सुन खरिद गरेका छन्। सोमध्ये ४६ करोड ९ लाख रुपैयाँको मात्रै बैंकिङ प्रणालीबाट खरिद भएको छ।
बाँकी ९१ प्रतिशत बाह्य निकाय वा व्यक्तिबाट खरिद भएको महालेखाले जनाएको छ। सुन चाँदीको नियमन गर्ने जिम्मेवार निकाय तोकिएको छैन। यसरी खरिद भएको सुनका सम्वन्धमा कर परीक्षणमा उल्लेख नभएकाले राजश्वमा असर परेको जनाउँदै महालेखाले छानविन गर्न भनेको छ।