नेपाली अर्थतन्त्रले सुनको असिमित आयात धान्न नसक्ने भन्दै सरकारले कोटा निर्धारण गरेको छ। अर्थात् भन्सार र कर तिरेर ल्याउने सुनको कोटा सरकारले तोके पनि विदेशबाट फर्किने नेपालीहरुले नै सरकारले तोकेको कोटा हाराहारीमा सुन ल्याउने गरेको पाइएको छ।
विश्वका विभिन्न मुलुकमा जाने नेपालीहरु घर फर्किदा भन्सार छुटमाल्याउन पाउने गहनको सिमाभित्रै रहनेर नेपालीहरुले दैनिक १५ किलो सुन ल्याउने गरेको पाइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार सरकारले दिइको छुट सुविधा प्रयोग गरेर नै दैनिक १० देखि १५ किलोसम्म सुन आउने गरेको छ।
सरकारले ५० ग्रामसम्मका गहना ल्याउन छुट दिएको छ। यही सुविधा प्रयोग गर्दै नेपालभित्र दैनिक औसत १५ किलो सुन आउने गरेको भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए।
‘हाम्रो कानूनले दिएको छुट सुविधा प्रयोग गर्दै यात्रुहरुले दैनिक १० देखि १५ किलोसम्म सुन ल्याउछन्’ उनले भने।
नेपाल सरकारले दैनिक वाणिज्य बैंकहरुलाईमात्र सुन ल्याउन दिन्छ। जसमा दिनमा उनीहरुले २० किलो सुन ल्याउन पाउछन्। सरकारले यात्रुहरुलाई सुनसम्बन्धि अर्को सुविधा पनि दिएको छ। जुन सय ग्रामसम्म भन्सार तिरेर काँचो सुन ल्याउन पाइने व्यवस्था छ।
अधिकांसले भन्सार छुट सुविधामा रहेरमात्र सुन ल्याउने गरेका छन्। काँचो सुन जुन भन्सार तिरेर ल्याउन पाइने छ त्यो कोटामा धेरै नआउने ठाकुरको भनाइ छ।
गहना भनेपनि यात्रुहरुले चलाखी गरेर रसायन प्रयोग नगरेको सुन ल्याउने गरेका छन्।बाला बनाएर अधिकांसले बाला लगाएर ल्याउने गरेका छन्।
नेपालका सुन व्यापारीहरुले मागअनुसारको आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरुले ठूला चाडपर्व, विवाहको सिजनमा सुनको माग ३५ किलोसम्म पुग्ने भन्दै कोटा बढाउनुपर्ने उनीहरुको माग छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मनिकरत्न शाक्यले अहिले पनि सुनको माग दैनिक ३५ किलो भएकाले बजारमा सुन अभाव भएको बताउछन्।
‘बैशाखको महिना छ, बिवाहको लगन हुने महिना यस्तोमा सुनको माग ३५ किलोभन्दा बढी छ’ उनले भने, ‘सरकारी कोटाबाट आएको सुन पर्याप्त हुँदैन यसमा सरकारले बिचार गरिदिए हुनेथियो।’
यद्यपी उनको दावीभन्दा बढी सुन नेपाल भित्रिने गरेको पाइएको छ। सरकारले दिएको २० किलो र यात्रुले ल्याउने सुनको कारण उनीहरुको दाबी भन्दा बढी सुन आउने गरेको छ।
सरकारले यात्रुहरुलाई सुनमा केही सुविधा दिएपनि तस्करी भने रोकिएको छैन।विमानस्थल भन्सारले दैनिकरुपमा पाँचसय ग्राहदेखि १ किलोसम्म सुन जफत गर्ने गरेको छ।