सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ।
आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएसँगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। सुनको मूल्य उकालो लाग्नुको मुख्य कारण बजेटमा बढाइएको भन्सार कर भएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका सभापति रमेश महर्जनको भनाइ छ।
बजेटयता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँ बढेको महासंघको तथ्यांक छ। बजेट आउने दिन अर्थात जेठ १५ गते सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ थियो।
भन्सार शुल्कका साथै अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेकाले असर परेको महासंघको भनाई छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस साढे १३ सय डलर नाघेको छ।
चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।