नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज तोलामा ६४ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यसअघि सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार नभएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
२०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो। अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो।
सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। बजेट भाषणको अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन १५ सय रुपैयाँले बढेर ६१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुन निरन्तर उकालो लाग्दै २० दिनको अवधिमा तोलामा ४५ सय रुपैयाँ बढिसकेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा त्यसको असर परेको शाक्य बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएपछि त्यसको असर परेको हो’ उनले भने। त्यस्तै बजेटमा बढाइएको भन्सार दरले पनि सुन महँगो भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३८१ डलर पुगेको छ। बिहीबार पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ। पोर्चुगलले एक हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपछि दुई देशबीच उत्पन्न तनाव पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको मुख्य कारण रहेको शाक्य बताउँछन्।
‘जव शक्तिशाली मुलुकहरुबीच विवाद र र द्वन्द्व बढ्छ, त्यसले सुनको मूल्यमा असर पर्छ’ उनले भने। अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन् ।
अमेरिका र चाइनाबीच चलिरहेको ट्रेड वार, अमेरिका र भारचबीचमा भएको ब्यापारिक तनाब सुनको मूल्य बढ्नुका अरु सहायक कारण भएको व्यवसायीको भनाई छ। अन्तर्राष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायी बताउँछन्।