सुन बेच्न खोज्दै हुनुहुन्छ भने केही दिन पर्खनुस्, भाउ लगातार बढेको बढ्यै छ।
तरल पुँजीका रूपमा लिइने सुनको मूल्य शुक्रबार तोलाको ६५ हजार रूपैयाँ पुग्यो। यो अिघल्लो दिनको तुलनामा हजार रूपैयाँ बढी हो।
जेठ १५ गते नयाँ बजेट आएको अर्को दिनदेखि बढ्न थालेको सुनको मूल्य त्यसयता प्रतितोला साढे पाँच हजार बढिसक्यो। यो क्रम अझै जारी रहने देखिन्छ।
सुनमा पुँजी लगानी गरिरहेकाहरूका लागि यो 'पर्ख र हेर' को अवस्था हो। तत्काल बिक्री गर्दा आगामी दिनमा हुने थप मूल्यवृद्धिको लाभबाट वञ्चित हुनुपर्नेछ। यस्तो बेला अन्तर्राष्ट्रिय र स्थानीय बजारको उतारचढावलाई नजिकबाट हेर्नुपर्छ।
नेपालमा मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजार हो, जहाँ शुक्रबार प्रतिऔंस १४ सय अमेरिकी डलरनजिक कारोबार भयो। एक औंस बराबर २८ दशमलव ३५ ग्राम हुन्छ।
नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाए पनि अन्तर्राष्ट्रिय बजारमा आठ वर्षअघिको रेकर्ड तोडिएको छैन। २०६८ भदौ २३ गते अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८५६ अमेरिकी डलरसम्म पुगेको रेकर्ड छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार त्यति बेला नेपालमा प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो रेकर्ड बिहीबार तोडियो।
अन्तर्राष्ट्रिय बजारकै आधारमा चल्ने स्थानीय सुन बजारमा यसपालि उताको भन्दा बढी मूल्यवृद्धि हुनुको कारण के हो?
यही प्रश्न हामीले सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यलाई सोध्यौं।
उनले पहिले अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नुको कारण खुलाए।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुन्छ। जब अमेरिका आन्तरिक वा बाह्य विवादमा फस्छ, तब लगानीकर्ताहरू अमेरिकी डलरको भाउ घट्ने डरले सुनतिर आकर्षित हुन्छन्। उनीहरू आफूसँग रहेको डलर सुनमा लगानी गर्छन्। यसले सुनको माग र मूल्य सँगसँगै बढ्छ।
पछिल्लो समय अमेरिकाको इरानसँग द्वन्द्व बढेको छ। इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि द्वन्द्व थप चर्किने अनुमान छ। यसले विश्वका लगानीकर्तामा अन्यौल बढेको र उनीहरू धमाधम सुनमा लगानी गर्न थालेको शाक्यले बताए।
जुनसुकै बेला बेच्न सकिने सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिइन्छ। यसलाई सबैभन्दा सुरक्षित लगानीको माध्यम पनि भनिन्छ।
‘जब शक्तिराष्ट्रको विवाद बढ्छ, तब लगानीकर्ताहरू आफ्नो पुँजी सुनमा लगानी गर्छन्,' शाक्यले भने, 'यसले एक्कासि माग बढ्दा मूल्य पनि बढ्न जान्छ।'
अमेरिका-इरान द्वन्द्व समाधान हुने संकेत नदेखिए एक सातासम्म सुनको मूल्य थप बढ्न सक्ने शाक्यको अनुमान छ।
अमेरिकाको फेडरेसन रिजर्भ बैंकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाले पनि सुनको मूल्यमा असर परेको हो। 'ब्याज नबढ्ने भएपछि बैंकमै पैसा राख्नुभन्दा सुनमा लगानी गर्नु फाइदाजनक हुन्छ,' उनले भने, 'यसले सुनको मूल्यमा थप चाप परेको छ।'
त्यस्तै, अमेरिका र चीन पछिल्लो नौ महिनादेखि व्यापार युद्धमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा पनि कर बढाउने चेतावनी दिएका छन्। व्यापार घाटा न्यूनीकरणको उद्देश्यले ट्रम्पले चालेको यो कदमबाट लगानीकर्ताको मनोबलमा प्रभाव परेको छ।
यी त भए अन्तर्राष्ट्रिय कारण। तर, पछिल्लो समय घरेलु कारणले पनि सुन महँगिएको व्यवसायी बताउँछन्।
शाक्यका अनुसार अमेरिकी डलरको दाँजोमा नेपाली मुद्रा सस्तो हुनु सुनको भाउ बढ्नुको प्रमुख घरेलु कारण हो। अहिले डलरको मूल्य १११ रुपैयाँभन्दा माथि छ।
नेपालमा सुनको भन्सार दर पनि बढ्दै गएको छ। यसपालि बजेटले प्रतिकिलो ८० हजार रुपैयाँ भन्सार दर बढाएको शाक्यले जानकारी दिए। बजेटअघि प्रतिकिलो ४ लाख २० हजार लाग्ने भन्सार शुल्क ५ लाख पुगेको छ। यसले पनि मूल्यमा असर पारेको छ।
नेपालमा सुनको मूल्य निर्धारणका लागि विज्ञहरूको एउटा समिति छ। जसले अन्तर्राष्ट्रिय मूल्य, भन्सारसहितका लागत र व्यवसायीलाई निश्चित फाइदा राखेर मूल्य निर्धारण गर्छ। निर्धारित मूल्यमा कारोबार हुने गरी महासंघले दैनिक आफ्नो वेबसाइटमा मूल्य अपडेट गर्छ।