सुन आज प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको यो मूल्य अहिले सम्मकै उच्च हो। सुनमा बिहीबार कायम भएको ६४ हजार रुपैयाँको नयाँ रेकर्ड एकै दिनमा तोड्दै शुक्रबार ६५ हजार रुपैयाँ कायम भएको हो। आज पनि सोही मूल्यमा सुुनको कारोबार भइरहेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएयता सुनको मूल्य निरन्तर बढीरहेको छ। १ महिनाको अवधीमा सुन ५५ सय रुपैयाँ बढीसकेको छ।
यो साता सुनका मूल्य २ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्याँकले देखाएको छ।
सुनको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु रहेको नेपाल सुनचाँदी ब्यसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न साक्यको भनाइ छ।
अन्तर्र्रािष्ट्रय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुन्छ। जब अमेरिका आन्तरिक वा बाह्य विवादमा फस्छ, तब लगानीकर्ताहरू अमेरिकी डलरको भाउ घट्ने डरले सुनतिर आकर्षित हुन्छन्। उनीहरू आफूसँग रहेको डलर सुनमा लगानी गर्छन्। यसले सुनको माग र मूल्य सँगसँगै बढ्छ।
पछिल्लो समय अमेरिकाको इरानसँग द्वन्द्व बढेको छ। इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि द्वन्द्व थप चर्किने अनुमान छ। यसले विश्वका लगानीकर्तामा अन्यौल बढेको शाक्यले बताए।
अन्तर्राष्ट्रिय क्षेत्रमा चलेको यो बिबाद नटुंगिए सुनको मूल्य अझ बढ्नसक्ने ब्यापारीहरुको अनुमान छ।