आज सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यमा एकपछि अर्को गर्दै निरन्तर नयाँ रेकर्ड कायम भइरहेको छ।
जेठ ५ गते सुनको मूल्यमा ६४ हजार रुपैयाँको इतिहासकै नयाँ रेकर्ड कायम भयो। यो रेकर्ड एकै दिनमा तोडियो । जेठ ६ गते तोलामा १ हजार रुपैयाँ बढ्दै ६५ हजार रुपैयाँमा सुनको कारोबार भयो। ३ दिन सम्म निरन्तर ६५ हजार रुपैयाँमै कारोबार भइरहेको सुन आज तोलामा ५ सय रुपैयाँ बढेर अर्को नयाँ रेकर्ड कायम भएको छ।
सुनको मूल्य निरन्तर उकाले लागेको १ महिना हुन थालेको छ। जेठ १५ गते अर्थात आगामी आर्थिक वर्षको बजेट प्रश्तुत हुनुभन्दा अघिल्लो दिन ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन असार १० सम्ममा तोलामा ६ हजार रुपैयाँ बढेको छ।
सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न साक्यका अनुसार सुनको मूल्य बढ्नुको मुख्य कारण पछिल्लो समय अमेरिकाको इरानसँग बढेको द्वन्द्व हो। साथै अमेरिका र चीन पछिल्लो नौ महिनादेखि व्यापार युद्धमा छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा पनि कर बढाउने चेतावनी दिएका छन्। व्यापार घाटा न्यूनीकरणको उद्देश्यले ट्रम्पले चालेको यो कदमबाट लगानीकर्ताको मनोबलमा प्रभाव परेकाले सुनको मूल्य बढेका हो।
अन्तर्राष्ट्रिय बजारकै आधारमा चल्ने स्थानीय सुन बजारमा यसपालि मूल्यवृद्धि हुनुको कारण के हो? भनेर हामीले सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यलाई पनि सोध्यौै।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुन्छ। जब अमेरिका आन्तरिक वा बाह्य विवादमा फस्छ, तब लगानीकर्ताहरू अमेरिकी डलरको भाउ घट्ने डरले सुनतिर आकर्षित हुन्छन्। उनीहरू आफूसँग रहेको डलर सुनमा लगानी गर्छन्। यसले सुनको माग र मूल्य सँगसँगै बढ्ने शाक्यले बताए।
इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि द्वन्द्व थप चर्किने अनुमान छ। यसले विश्वका लगानीकर्तामा अन्यौल बढेको र उनीहरू धमाधम सुनमा लगानी गर्न थालेको शाक्यले बताए।
जुनसुकै बेला बेच्न सकिने सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिइन्छ। यसलाई सबैभन्दा सुरक्षित लगानीको माध्यम पनि भनिन्छ। ‘जब शक्तिराष्ट्रको विवाद बढ्छ, तब लगानीकर्ताहरू आफ्नो पुँजी सुनमा लगानी गर्छन।’ शाक्यले भने, ’यसले एक्कासि माग बढ्दा मूल्य पनि बढ्न जान्छ।’
अमेरिकाको फेडरेसन रिजर्भ बैंकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाले पनि सुनको मूल्यमा असर परेको हो। ’ब्याज नबढ्ने भएपछि बैंकमै पैसा राख्नुभन्दा सुनमा लगानी गर्नु फाइदाजनक हुन्छ,’ उनले भने, ’यसले सुनको मूल्यमा थप चाप परेको छ।’