प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै दरमा सुनको कारोबार हुने छ।
बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।
पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले बिहीबारसम्म रोकिएको थिएन।
आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो। मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो।
बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो।
नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन।
सन् २०११ अगस्ट २९ मा प्रतिऔ सुनको मुल्य १८८९.७० डलर पुगेको थियो । त्यो मूल्य अन्तर्राष्ट्रि बजारमा कायम भएको सबैभन्दा बढी हो । त्यतिबेला नेपालमा भने प्रतितोला ६३ हजारमा कामय भएको थियो ।
अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।
यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ।