ठीक ८ वर्षअघि आजकै दिन विश्व बजारमा सुनको मूल्यले रेकर्ड बनाएको थियो। सन् २०११ अगस्ट २२ मा विश्व बजारमा प्रति औंस सुनको मूल्य १ हजार ८ सय ८९.७० अमेरिकी डलर थियो।
अन्तर्राष्ट्रिय बजारमा यो नै अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । नेपाली बजारमा भने त्यतिबेला प्रतितोला सुनको मूल्य ६३ हजार ३ सय कायम भएको थियो।
त्यतिबेलाको सुनको कीर्तिमानी मूल्य नेपाली बजारमा भने भंग भइसकेको छ। गत असार ५ गते नै उक्त कीर्तिमान भंग गर्दै सुनको मूल्यले प्रतितोला ६४ हजारको नयाँ रेकर्ड बनायो। त्यसअघि नेपाली बजारमा सुनको मूल्य कहिल्यै ६४ हजार कटेको थिएन।
त्यसपछि भने सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाउँदै बढीरहेको छ। गत बिहीबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै कीर्तिमानी मूल्य पायो। बिहिबार सुनको मूल्य प्रतितोला ७१ हजार ५ सयमा कारोबार भयो। तर, यो दुई दिन मात्रै कायम भयो र घट्यो।
विश्व बजारमा भने सुनको मूल्यले ८ वर्ष अघिको रेकर्ड नै तोड्न सकेको छैन। एक औंसको मूल्य हेर्दा त्यो कीर्तिमान मूल्य भन्दा ३ सय ९० डलर कम छ।
त्यसो भए कसरी नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो त ?
आठ वर्षअघि जब विश्वमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै थियो, त्यतिबेला डलर भने कमजोर बन्दै गइरहेको थियो । २०११ अगस्ट २२ मा १ डलर बराबर ७२.८९ रुपैयाँ विनिमय दर निर्धारण गरिएको थियो।
तर, सन् २०१८ पछि डलर तीब्र गतिमा महङ्गिदै गयो। २०१८ को अप्रिलमा १ डलर बराबर एक सयकै आसपासमा थियो ६ महिनाअघि मात्रै १ डलरको विनिमय दर ११७ रुपैयाँ पुग्यो।
त्यसपछि डलर सामान्य कमजोर भयो तर, नेपाली बजारमा ११० रुपैयाँ भन्दा तल झरेको छैन। अहिले एक डलर बराबर ११४ रुपैयाँ विनिमय दर कायम छ। नेपालको विनिमय प्रणाली भारतसँग स्थिर छ। डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुनु नै नेपाली मुद्रा कमजोर हुनु हो।
डलर बलियो भएकै कारण नेपाली बजारमा सुनको मूल्य धेरै देखिएको हो। नेपाली बजारमा अहिले सुनको मूल्य अत्याधिक हुनु विनिमय दर मात्रै कारण होइन। अर्थात् अहिलेको डलर बलियो भएर मात्रै सुनको मूल्य बढी भएको होइन।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढीरहेको छ। ठीक एक वर्ष अघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ११९० अमेरिकी डलर प्रति औंस थियो। एकै वर्षमा सुनको मूल्य प्रतिऔंस ३१० डलर भन्दा बढीले बढेर १५ सय पुगेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको कारण माग नै बढ्नु हो। पछिल्लो समय विश्वभरिका केन्द्रीय बैंकले सुनको बचत बढाइरहेका छन्। यसमा सबैभन्दा अगाडि रुस छ। सन् २०१५ मा रुसको केन्द्रीय बैंकमा १२३८ टन सुन थियो, अहिले त्यो बढाएर २१६८.३० टन बनाएको छ।
यस्तै, चिनियाँ केन्द्रीय बैंकले सोही समयमा १०५८ बाट १८८५.४८ टन बनाएको छ भने भारतले ५५७ बाट ६ सय १२ टन बनाएको छ।
गोल्डहब वेबसाइटका अनुसार सन् २०१८ मा मात्रै विश्वभरिका केन्द्रीय बैंकले ६५६ टन सुन माग गरे यो सन् २०१७ को तुलनामा ७३ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो ६ महिनामा मात्रै ३७४ टन सुनको माग भएको वेवसाइटले उल्लेख गरेको छ।
यस्तै भारतमा गरगहनाको लागि पनि सुनको माग धेरै हुन्छ। उक्त वेबसाइटका अनुसार पछिल्लो समय भारतमा चाडपर्व र विवाहको सिजन सुरु हुँदा सुनको माग बढेको हो। अर्थशास्त्री विशाल चालिसे भारतीय बजारको मागले विश्व बजारमा सुनको मूल्यलाई प्रभाव पार्न सक्ने बताउँछन्।
कस्मिर विवादको असर भारतीय अर्थतन्त्रमा पर्छ। भारतीय मुद्रा कमजोर हुनुको कारण यो पनि हो। भारतीय अर्थतन्त्र कमजोर हुँदा विदेशी लगानी घट्ने र त्यो लगानी सुनमा सर्ने हुनाले मूल्य बढ्न सक्ने बताइन्छ। तर, अर्थशास्त्री विशाल चलिसे भने सुनको मूल्यमा कस्मिर विवादको असर नपर्ने बताउँछन्।
‘भारतको अर्थतन्त्र पछिल्लो समय समस्यामा छ, त्यहाँ बेरोजगारी बढ्दो छ,’ चालिसेले भने, ‘तर, कस्मिरको आफैमा सानो अर्थतन्त्र भएकोले देशैभरि असर देखिँदैन।’
यस्तै, पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्ध पनि सुनको मूल्य बढ्नुको कारण रहेको सुनचाँदी व्यवसायी महासंघको दाबी छ। व्यापार युद्ध चर्किदै गएपछि उनीहरु अनावस्यक जोखिन मोल्न चाहँदैनन् र व्यापारको लगानीको विकल्प खोज्छन् । अहिले उनीहरुले सबैभन्दा राम्रो विकल्प सुनमा देखेकाले पनि लगानी गर्न चाहेका छन् र मूल्य बढेको तर्क सुनचाँदी व्यवसायी महासंघको छ।
यस्तै, पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंकले व्याजदरमा परिवर्तन गरेका कारण पनि सुनको मूल्य बढेको हो। अर्थशास्त्री चालिसे फेडले व्याजदर घटाउनु, सँगै अन्तर्राष्ट्रिय रुपमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर सुनमा देखिएको बताउँछन्।
‘अहिले इरानको तेलामा प्रतिबन्ध लागेको छ त्यसैले साउदी अरबले उत्पादन बढाएको छ,’ उनले भने, ‘यसले तेलको मूल्य पनि बढाएको छ।’ तेलको मूल्य बढ्दा उत्पादन लागत बढ्ने र नाफा घट्ने हुनाले पनि लगानीकर्ता सुनतर्फ लगानी गर्न आकर्षित हुँदा मूल्य बढेको उनले बताए।
‘एउटा मात्रै कारण नभएर धेरै कारण एकैपटक भएकाले सुनको मूल्यमा असर परेको छ,’ चालिसेले भने । सुनको मूल्यले नेपालमा कस्तो प्रभाव पार्छ ? अन्तर्राष्ट्रिय रुपमा सुनको मूल्य बढ्दा त्यसको असर भने नेपालमा नपर्ने चालिसे बताउँछन्।
‘हाम्रोमा नाफा पाएको बेलामा बेच्नेगरी सुन किन्ने चलन छैन,’ उनले भने, ‘रहरले सुन किनिने भएकाले मूल्य घटबढ हुदाँ कारोबारमा असर परे पनि अर्थतन्त्रलाई नै भने कुनै प्रभाव पार्दैन।’
सुनको मूल्य बढ्दा कारोबार घटेर बैंकमै सुन थुप्रिएको छ। तर, बैंकले लगानीको सानो भाग मात्रै सुनमा लगानी गरेकाले त्यसले बैंकिङ प्रणालीमा पनि असर नगर्ने चालिसेको तर्क छ।