बुधबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। यस दिन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबारको तुलनामा तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार ५ रुपैयाँ कायम भएको हो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। यसअघि भदौ १२ गते प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भई त्यसअघिको उच्च रेकर्ड तोडिएको थियो।
यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ। बुधबारको लागि प्रतितोला तेजावी सुनको मूल्य ७३ हजार २ सय कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसले नेपाली बजारमा असर पारेको हो। अमेरिका र चीनबीच व्यापारिक युद्ध झन् चर्किएपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन्। यसले आपूर्तिभन्दा माग बढ्न गई मूल्य नै उकासिएको छ।
गत आइतबारबाट अमेरिकाले थप ११० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशतसम्म कर लगाएको छ। खानेकुरा, लत्ताकपडा, घरायसी सामग्री, टेलिभिजनलगायत सामानमा अमेरिकाले कर लगाएको हो।
चीनले निर्यात गर्ने सबै सामानमा कर लगाउने अमेरिकी योजनाको यो पहिलो चरण हो। आगामी डिसेम्बर १५ देखि बाँकी सामानमा पनि कर लगाउने अमेरिकाले जनाएको छ।
जवाफमा चीनले पनि आइतबारदेखि नै लागू हुने गरी ७५ अर्ब डलरका अमेरिकी सामानमा कर लगाएको छ। अमेरिकी सोयविनलगायत सामानमा चीनले कर ५ देखि १० प्रतिशतसम्म कर लगाएको हो।